पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेन-जीलाई संवेदनशील बन्न सुझाउँदै उनीहरूकै प्रस्तावमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उपर्युक्त भएको बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पूर्वन्यायाधीशको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई सम्पूर्णले साथ र सहयोग गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन-जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ । हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाइ !’
भट्टराईले उपर्युक्त संविधानसम्मत र लोकतान्त्रिक विधिबाट निर्णय लिन सुझाउँदै संविधानविद् तथा जानकारको सल्लाहबाट निर्णय लिन सुझाएका छन् । ‘अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’
यसअघि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी र अहिले प्रस्ताव गरिएको सुशीला कार्कीबीचको नजीर मेल नखाने भन्दै भट्टराईले अब सुझबुझका साथ अघि बढ्न सुझाएका छन् । ‘यो सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन । त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा 'राजनीतिक सहमतिका आधारमा' कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र 'राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी)बीचको सहमति बुझ्नुपर्छ' भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो ।’
वर्तमान संविधानबारे जेन-जी संवेदनशील हुनुपर्ने सुझाव पनि उनको छ । ‘यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेन-जी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन-जी को दीर्घकालीन हितमा हुनेछ ।’

प्रकाशित: २७ भाद्र २०८२ ११:१५ शुक्रबार





