१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:३३ अपराह्न
समाज

धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरुबाट महाङ्कालको पूजाअर्चना

श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरुहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ।

पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गरे। उनीहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा समेत गरेका थिए।

हिन्दू एवं बुद्ध धर्मावलम्वीले आआफ्नो धार्मिक विधि–पद्धति अनुरूप समान रूपमा महाङ्कालको पूजाअर्चना गर्ने गर्छन्। मङ्गलबार बौद्ध महाङ्काल चौर प्राङ्गणमा लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट आआफ्नो पूजा पद्धति अनुरूप यज्ञ मण्डप स्थापना गरी महाङ्कालको पूजा गरिएको दृश्य अत्यन्त मनमोहक थियो। हिन्दू एवं बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थितिमा पूजाअर्चना गरिएको थियो।

हिन्दू र बुद्ध धर्मावलम्वीले महाङ्कालप्रति उत्तिकै आस्था राख्ने हुँदा धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरुबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताए। पूजाअर्चना पछि प्रसाद ग्रहणसँगै ऐतिहासिक बौद्ध महाङ्काल जात्रा सुरू गरिएको थियो।

प्रकाशित: २८ श्रावण २०८२ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App