ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र पर्यटन क्षेत्रको आम्दानीबाट देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सकिने बताएका छन्।
बुधबार ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको अर्थतन्त्रको कायापलट गर्न सक्ने स्रोतहरूबारे चर्चा गर्दै यस्तो बताएका हुन्।
घिसिङले आगामी १५ देखि २० वर्षभित्र नेपालले ५० हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने क्षमता राख्ने र त्यसबाट वार्षिक ४० देखि ५० खर्ब रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरे।
‘अहिले नेपालको कुल गार्हस्थ उत्पादन नै करिब ५० खर्बको हाराहारीमा छ। यदि हामीले सोही बराबरको रकम विद्युत निर्यातबाट मात्रै कमाउन सक्यौँ भने नेपाली जनतासँग कर लिइराख्नु पर्दैन,’ घिसिङले भने, ‘त्यो आम्दानीले १०–१५ वर्षपछि नेपाली जनतालाई बिजुली सित्तैमा दिन सकिन्छ।’
उनले युरोपेली मुलुक लक्जम्बर्ग र माल्टाको उदाहरण दिँदै नेपालमा पनि यातायात निःशुल्क गर्न सकिने तर्क गरे।
‘म लक्जम्बर्ग जाँदा देखेँ, त्यहाँ पब्लिक ट्रान्सपोर्टेसन (सार्वजनिक यातायात) फ्री रहेछ। आम्दानीको स्रोत के हो भनेर सोध्दा टुरिजम मात्रै रहेछ,’ उनले भने, ‘एउटा सानो देशले पर्यटनको आम्दानीले यातायात फ्री गर्न सक्छ भने हामीसँग त अथाह प्राकृतिक स्रोत छ। हामीले शिक्षा फ्री गर्न सक्छौँ, स्वास्थ्य फ्री गर्न सक्छौँ र यातायात पनि फ्री गर्न सक्छौँ।’
मन्त्री घिसिङले देशमा पुँजीगत लगानी बढाउन सके विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिने बताए।
‘हाम्रो देश यति सुन्दर छ, हावापानी राम्रो छ। यहाँ अवसर सिर्जना गर्ने हो भने खाडीमा गएका नेपाली मात्र होइन, युरोप र अमेरिकाका युवाहरू पनि नेपाल आएर बस्ने वातावरण बन्छ,’ उनले भने, ‘राजनीतिक परिवर्तन धेरै भयो, अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ।’
प्रकाशित: १७ मंसिर २०८२ १६:४२ बुधबार





