ऊर्जामन्त्री कुलमान घिसिङले वृद्ध उमेरका नेतृत्वले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन्।
बुधबार ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देश विकासका लागि युवा जोश र सही नेतृत्व अपरिहार्य रहेको बताए।
उनले उमेर र क्षमताको सन्तुलन नमिल्दा देशले गति लिन नसकेको तर्क गरे।
मन्त्री घिसिङले युवा र वृद्ध दुवैको मात्र भर पर्दा समस्या हुने बताउँदै भने, ‘२० वर्षको युवालाई देश चलाऊ भन्दा विल पावर (इच्छाशक्ति) त हुन्छ तर अनुभव हुँदैन। २० वर्षको युवासँग जोश हुन्छ तर अनुभवको कमी हुन्छ।’
त्यस्तै, वृद्ध नेतृत्वप्रति टिप्पणी गर्दै उनले थपे, ‘७०–८० वर्षको बुढासँग अनुभव त हुन्छ, तर हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुम्पिएर हुन्छ ? हुँदैन।’
घिसिङले अबको नेतृत्व सही उमेर समूह र सही समयमा आउनुपर्नेमा जोड दिए। ‘हामीले भनेको सही व्यक्ति, सही समय र सही ठाउँमा हुनुपर्छ। कार्यान्वयन पक्ष बलियो बनाउन सक्षम र उर्जावान् नेतृत्व नै चाहिन्छ,’ उनले भने।
उनले ‘मेरिटोक्रेसी’ मा जोड दिँदै क्षमतावान् व्यक्तिहरूलाई मात्र नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे। ‘योग्यताको कदर नगरी, समावेशीको नाममा मात्रै नेतृत्व छान्ने परिपाटीले नतिजा दिँदैन। समावेशी मेरिटोक्रेसी आजको आवश्यकता हो,’ उनले भने।
आफ्नो मन्त्री कार्यकालको अनुभव सुनाउँदै उनले पुराना ऐन–कानुनले काम गर्न नदिएको गुनासो गरे। ‘मन्त्री भएको साढे दुई महिना भयो, सोचेजस्तो काम गर्नै सकिएन। एउटा रुख काट्न ५ वर्ष लाग्छ भने ठेकेदारले १५ वर्षसम्म काम लम्ब्याउँछ,’ उनले भने, ‘विकास विरोधी पुराना ऐन–कानुन तत्काल खारेज गरेर नयाँ ‘विकास ऐन’ नल्याएसम्म देश बन्दैन।’
प्रकाशित: १७ मंसिर २०८२ १६:५६ बुधबार


-600x400.jpg)


-600x400.jpg)