२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रक्तसञ्चार केन्द्रमा मेसिन अभाव, रगत वर्गीकरणमा समस्या

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन। विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट) मेसिन नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ।  

रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिज मात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन। कसैलाई सेतो रक्तकोषिका चाहिएको हुन्छ, त्यसका लागि कि त घोराहीबाट कि त नेपालगञ्जबाट ल्याउनुपर्ने हुन्छ। अहिले पनि महिनामा २० जना भन्दा बढीलाई सेतो रक्तकोषिका चाहिने गरेको छ, तर त्यो रगत नहुँदा कुनै बिरामीलाई ‘होलब्लड’ नै दिने गरिएको छ। अतिआवश्यक परेमा घोराहीबाट ल्याउने गरिएको छ।  

मेसिन भएमा रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट रगत छुट्याएर जुन बिरामीलाई आवश्यक पर्छ, त्यसैलाई दिन सकिने चौधरीले बताए। माग भइरहे पनि उक्त मेसिन नहुँदा समस्या हुने गरेको उनको भनाइ छ। हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ। रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा मात्र कम्पोनेन्ट मेसिन छ। प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा रु ३५ लाखमा उक्त मेसिन ल्याइएको हो। हाल जिल्लामा सोही मेसिनबाट नै काम चलाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताए।  

उनले भने, ‘अहिले घोराहीमा त मेसिन छ, तर त्यो पनि बिग्रियो भने कि त बुटबल जानुपर्छ कि त नेपालगञ्ज जानुपर्छ। अहिले कम्पोनेन्ट मेसिन नभएकै कारण धेरै बिरामी जिल्लाबाट रेफर गर्नुपर्ने अवस्था छ।’ रासस 

प्रकाशित: २० भाद्र २०८२ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App