१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कतार जाँदै खगेन्द्र र रुद्रकली, सौराहाबाट गरियो भव्य बिदाइ

नेपालले कतारलाई उपहार स्वरुप दिन लागेको दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको छ। सौराहा स्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाइ गरिएको हो।

निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका छावालाई आगामी पुस २ गते रुपन्देहीको भैरहवा विमानस्थलबाट कार्गोमार्फत् कतार पठाइँदै छ।

त्यसभन्दा अगाडि सौराहामा एक कार्यक्रमको आयोजना गरी सोमबार हात्तीलाई बिदाइ गरिको हो। बिदाइ कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रल्लाहद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायतका पदाधिकारीको उपस्थित रहेको थियो।

सो क्रममा बोल्दै मेयर सापकोटाले कतार जान लागेका हात्तीले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने बताए। ‘हामीसँग जे छ त्यहीँ दिने हो। पर्यटनका हिसाबले यसलाई दिँदा अन्यथा मान्नुपर्ने अवस्था छैन’ उनले भने ‘यी हात्तीले नेपाल र कतारको सम्बन्ध बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ।’

चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले नेपाललाई संसारमा चिनाउनका लागि यस हात्तीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरे। हात्तीसँगै दुई जना माउते र एक जना पशु चिकित्सक पनि कतार जानेछन्।

उनीहरुले केही समय हात्तीको रेखदेख गरेर फर्किने प्रमुख संरक्षण अधिकृत पन्तले जानकारी दिए। खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हात्ती हो। उनीहरूको उमेश क्रमशः ६ र ७ वर्षका भए। उनीहरुलाई यहाँबाट लगेर कतारको अलखोर चिडियाखानामा राखिने उनले जानकारी दिए।

विसं २०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा हात्ती पठाउने भनिएको थियो, तर कानुनी तथा प्राविधिक प्रक्रिया नमिलेपछि हात्ती पठाइएको थिएन। हात्ती लोपोन्मुख वन्यजन्तुअन्तर्गत पर्दछ। यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ। यी सबै प्रक्रिया पूरा गरेर यहाँबाट हात्ती पठाइएको निकुञ्जले जानकारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले हात्ती उपहार दिने निर्णय गरेको थियो। खगेन्द्रप्रसाद विसं २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा हो। अहिले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्रमा छ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा हुर्कँदै गरेकी रुद्रकली ६ वर्षकी भई। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भएको थियो।

पूजाकलीको मृत्युपछि उसलाई माहुतेले रेखदेख गरेर हुर्काएका थिए। कतार पठाउने तयारी गरिएका दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन्। दुवैका पिता भने जङ्गली भाले हात्ती हुन्।

नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता सरकारले विभिन्न देशलाई अन्य जनावर उपहार दिएको भए पनि पहिलो पटक हात्ती उपहार दिन लागेको हो। कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको सूचना अधिकारी अभिनास थापाले जानकारी दिए।

यी हात्ती कतार पठाउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्ती राख्ने स्थान एवं त्यहाँको वातावरण अध्ययन गरेर फर्किएको थियो।

अध्ययन टोलीले हात्ती राख्न बनाइएको ठाउँ उपयुक्त रहेको निचोड निकालेको थियो। हात्तीको स्वास्थ्य अवस्था, तिनको आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट आएको प्राविधिक टोलीसमेत फर्किसकेको छ। टोली दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्किएको छ।

निकुञ्जका अनुसार चार महिनाअघि कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल एक हजार एक सय ९० किलो र रुद्रकलीको तौल एक हजार दुई सय किलो रहेको थियो।

नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ।

प्रकाशित: २९ मंसिर २०८२ १९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App