२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जनशक्ति अभावले जुटको उत्पादन बढ्न सकेन्

फाइल तस्बिर

पूर्वी तराई क्षेत्रमा उत्पादन हुँदै आएको जुट खेतीमा झारपात र कुहाउने–धुवाउने समस्याले गर्दा उत्पादन बढ्न सकेको छैन ।  

पछिल्लो समय पुरुष वैदेशिक रोजगारीमा जानेको संख्या बढेर सीमित मात्र रहेकाले गर्दा झारपात गोड्नेसँगै जुटलाई कुहाउने–धुवाउने जनशक्तिको अभाव छ । जुट कुहाउने–धुवाउने समस्या हुँदा उत्पादन बढ्न नसकेको जुट बाली अनुसन्धान केन्द्र इटहरीले जनायो ।  

‘पछिल्लो समय झारपात मार्नका लागि एजिल र सनराइस मिलाएर विषादी छर्कँदा मर्ने गरेको छ । तर, कुहाउने–धुवाउने समस्याले गर्दा उत्पादन बढाउन सकिएको छैन,’ जुट अनुसन्धान केन्द्रका संयोजक सन्तोषराज त्रिपाठीले भने। उनका अनुसार खाडीमा महिला पस्दैनन्, किन कि जुटमा ब्याटेरिया अध्याधिक हुने हुँदा महिलाको प्रजननमा असर पुग्ने वैज्ञानिक प्रमाण छ ।  

‘पहिला पहिला धुनेहरूले २० मुठाको २–३ मुठा लिएर धुने गर्थे, तर यतिबेला २० मुठा धुँदा आधाजसो लगभग १० मुठासम्म दिनुपर्छ,’ त्रिपाठीले भने, ‘त्यही कारणले गर्दा किसानहरू जुट लगाउन डराउने गर्छन् ।’ दुई दशक अघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो ।  

जुटको उत्पादकत्व बढाउनका लागि जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने मेसिन पनि प्रयोग गर्न थालेको छ । अघिल्लो वर्ष मोरङमा मेसिन प्रयोग गरिएको थियो । यसपटक सुनसरीको देवानगञ्जमा मेसिन प्रयोग गरिने भएको  छ । मेसिन प्रयोग गर्दा जुटको डाठ धुलो हुन्छ । जसले गर्दा  किसानले त्यो दाउराका रुपमा प्रयोग हुनाले मेसिन प्रयोग नगर्ने गरेका छन् । मेसिन किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा समेत छोडाउने गरिएको छ ।  

‘खास गरी जुटको बोक्रा छोडाएर केही दिन पोखरीको पानीमा कुहाउँदा पोखरी बाहिरै निकालेर धुन सकिने र सहज हुने अनि त्यो काम महिलाले सहज ढंगले गर्न सक्छन्,’ त्रिपाठीले भने । साना किसानले मेसिन प्रयोग गर्न नमानेपछि ठूला किसानले प्रयोग गर्ने गरेका छन् । ‘अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘भारत र बङ्गलादेशमा पनि मेसिनकै प्रयोग गर्ने गरिएको छ ।’

अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुट खेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०–८१ मा सात हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा दस हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।

पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुट खेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुट खेती हुने गर्छ । अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चा पदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ ।  देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले छ वटा बन्द छन् ।    

प्रकाशित: ३ भाद्र २०८२ १७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App