रोल्पामा गए राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार राति पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका, ४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
लुङग्री गाउँपालिकाको किलाचौरबाट सुलिचौर तर्फ जाँदै गरेको उक्त जीप दुर्घटना हुँदा सुनछहरी गाउँपालिका, ६ का ३२ वर्षीय चालक थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको हो। उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा बिहीबार बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।
सो दुर्घटनामा परी जिल्लाको लुंग्री गाउँपालिका, ७ हार्जङका ४० वर्षीय खिमबहादुर पुन, लुंङग्री, ४ सालडाडाँकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते छन्। सुलिचौरको उपचारपछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवाका लागि रेफर गरिएको छ।
दुर्घटनाबारे स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वमा ११ जनाको टोली र स्थानीयले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका थिए।
प्रकाशित: १३ कार्तिक २०८२ ११:१६ बिहीबार





