सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विश्वेश्वर प्रसाद साह निलम्बनमा परेका छन् । उनमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको मुद्दा दायर भएपछि अनुशासन समितिले उनलाई सचिव पदबाट निलम्बन गरेको हो ।
आइतबार केन्द्रीय अनुशासन समितिका संयोजक नगेन्द्र प्रसाद चौधरीले एक विज्ञप्ति जारी गर्दै उनलाई उक्त अभियोगको अनुसन्धान अवधिसम्म पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । साथै उनमाथि लागेको अभियोगबारे समितिले ७ दिने स्पष्टीकरण पनि सोधेको छ ।
साहमाथि प्रहरीमा दायर भएको अभियोगको छिनोफानो भएर निर्दोष सावित नभएसम्म उनलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको समितिका संयोजक चौधरीले बताए ।
२०८१ चैत ३१ गते जनकपुरकी एक २८ वर्षीया महिलाले आफूलाई साहले जबरजस्ती करणी गरेको धनुषा प्रहरीमा जाहेरी दिएकी छन् । साहमाथि प्रहरीले मुद्दा दर्ता गरेपछि उनी अहिले प्रहरीको फरार सूचीमा छन् । तर साह भने निरन्तर सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
साहमाथि लागेको अभियोगबारे नागरिक न्यूजलगायतका सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले आफ्नो फेसबुकमार्फत चुनाव र महाधिवेशनको समयमा जबरजस्ती करणीको जाहेरीमार्फत मिडिया तताउन लागेको प्रतिक्रिया दिएका छन् ।
साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका १२ का साह फरार रहेका कारण उनको तीन पुस्ते विवरण खुलाइ पठाउन जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा २०८२ भदौ ५ मा पत्र पठाएको छ ।
साह पार्टीमा पनि विवादित छविका मानिन्छन् । साहलाई यसअघि पार्टीले तीन महिनाका लागि अनुशासनको कारबाही गरेको थियो । साहले २०७९ को प्रतिनिधिसभा चुनावताका हरहिसाबको विषयलाई लिएर धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साह कमलसँग पार्टी बैठकमै कुटाकुट गरेको समाचार सार्वजनिक भएको थियो ।
प्रकाशित: ३० भाद्र २०८२ १२:३७ सोमबार





