२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन

नेकपा (एमाले) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।

ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

यस्तै, बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

कमिटीको सचिवमा विष्णु रिमाल र सदस्यमा छविलाल विश्वकर्मा, हिक्मत कार्की, डा. राजन भट्टराई, रमेश बडाल, मीनबहादुर शाही र डा. भीष्म अधिकारी रहेका छन्।

यस्तै, पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीलाई निर्वाचनको काममा केन्द्रित रहेर परिचालन गर्ने निर्णय गरिएको उपमहासचिव भट्टले जानकारी दिए।

उनले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई आगामी निर्वाचनमा खेलेको भूमिको आधारमा आगामी जिम्मेवारी निर्धारण गरिने बताए।

उपमहासचिव भट्टका अनुसार निर्वाचन नजिकै आइरहेकाले नेताहरुको कार्यविभाजन अस्थायी किसिमले गरिएको छ।

पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीले नेतालाई केन्द्र र प्रदेशगत रुपमा युवा मतदाता केन्द्रित चुनाव परिचालनका लागि जिम्मेवारी दिएको जानकारी दिए।

यस्तै, बैठकले प्रदेश र निर्वाचन सम्बन्धित अन्य काममा संयोजन गर्न नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ। कोशी प्रदेशमा सचिव शेरधन राईलाई, मधेस प्रदेशमा लिलानाथ श्रेष्ठलाई, बागमती प्रदेशमा महेश बस्नेतलाई, राजधानीमा डा. राजन भट्टराईलाई, गण्डकी प्रदेशमा खगराज अधिकारीलाई, लुम्बिनी प्रदेशमा पद्मा अर्याललाई, कर्णाली प्रदेशमा यमलाल कँडेललाई र सुदूरपश्चिममा गणेश ठगुन्नालाई तथा सङ्गठन विभागको संयोजन भानुभक्त ढकाललाई प्रदान गरिएको छ।

यस्तै, पार्टी नियमावली संशोधन गर्नका लागि मस्यौदा कमिटीको सचिव भानुभक्त ढकाल तथा सदस्यमा रमेश बडाल र माधव ढुङ्गेललाई चयन गर्ने निर्णय गरेको छ।

पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई चयन गर्ने निर्णय गरिएको छ। उपमहासचिव भट्टले राष्ट्रियसभामा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर जाने कुरामा सहमति भएको जानकारी दिए।

दुई प्रस्ताव पारित

एमालेले हालै अमेरिकाले भेनेजुलएलामा गरेको हस्तक्षेपको भत्र्सना गरेको छ। बैठकपछि उपमहासचिव भट्टले अमेरिकाद्वारा भेनेजुलएलामा गरिएको व्यवहार न्यायिक दृष्टिकोणले कदापी स्वीकार्य नहुने भन्दै यस्तो घटनाको विरोध गर्दै विश्व व्यवस्थामा फर्कन आह्वान गरिएको बताए।

यस्तै, जनकपुरमा सामाजिक सद्भाव भड्काउन गरिएको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेले सद्भाव कायम गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित: २२ पुस २०८२ २०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App