हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँकी ८२ वर्षीया धनसरा बुढालाई राष्ट्रिय परिचयपत्र पाउन नौ दिन लाग्यो । धनसरालाई उनका छोरा र गाउँले मिलेर घरबाट स्टेचरमा राखेर बोक्च्यागौडा पुर्याएका थिए । दुई घण्टा स्टेचरमा बोकेर बोक्च्यागौडा पुर्याएपछि त्यहाँबाट सिमकोट पुर्याउन आठ हजार रुपैयाँमा गाडी रिजर्भ गर्नुपर्यो । खार्पुनाथ दूरीका हिसावले सदरमुकाम सिमकोटसँग जोडिएको छ ।
‘स्टेचरमा छिमेकीको सहयोगमा आमालाई बोकेर दुई घण्टा टाढाको बोक्च्यागौडा ल्यायौं, त्यहाँबाट आठ हजारमा गाडी रिजर्भ गरेर सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय ल्याइपुर्यायौं,’ छोरा सत्य बुढाले भने, ‘राष्ट्रिय परिचयपत्र बनाउन ४० हजारबढी खर्च भयो ।’ ८२ वर्षीया धनसरा आँखा देख्दिनन् । स्वास्थ्य अवस्था पनि राम्रो छैन् । धनसराको नागरिकतामा थर फरक परेको थियो । मतदाता नामावलीमा नाम फरक परेको थियो । ‘यी सबै विवरण सच्याएर राष्ट्रिय परिचपत्र प्राप्त गर्न नौ दिन लाग्यो,’ उनले भने ।
सामाजिक सुरक्षा भत्ता लिन, बैंकमा खाता खोल्नलगायतका प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गमका आम नागरिक समस्यामा परेका छन् । ‘मेरी आमालाई मात्रै होइन्, हिँडडुल गर्न नसक्ने धेरै अभिभावकहरुलाई बोकेरै सदरमुकामसम्म ल्याउने गरेका छन्,’ उनले भने, ‘सरकार काठमाडौंको सिंहदरवारभित्र बसेर निर्णय गर्छ, हामी दुर्गमका जनताको पीडा बुझ्दैन् ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले धनसरा र उनीसँगै आएका छोरा राष्ट्रिय परिचयपत्र बनाएर घर फर्किएको बताए । ‘उहाँहरु मंगलबार आइपुग्नु भएको हो, बुधबार कर्णालीमा सार्वजनिक विदा थियो,’ उनले भने, ‘बिहीबार परिचयपत्र बनाएर पठाएका छौं ।’
कालिकोटको पलाँता गाउँपालिका–२ लाफाका ७८ वर्षीया भुहाने सार्की राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कालिकोट आएको दुई दिन भयो । बुधबार विहान घरबाट हिँडेका उनीसहितको टोली दिउँसो प्रशासन कार्यालय आइपुगेको थियो । ‘बेली (हिजो) विदा (सार्वजनिक) रहेछ,’ उनले भने, ‘आज लाइनमा लागेका छौं, कहिले बन्ने हो थाहा नाइँ ।’ उनले यसअघि नागरिकता देखाएर आफूले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताए । ‘हिजोआज भत्ता लिनका लागि अर्कै कागज चाहिने रहेछ,’ उनले भने, ‘त्यहीँ बनाउनका लागि हामी यहाँ आयाका हौं ।’
खाँडाचक्र नगरपालिका–३ ताडीकी ८० वर्षीया पाति पाण्डेलाई उनका छोरा भानुप्रभात पाण्डेले डो¥याउँदै जिल्ला प्रशासन कार्यालय लिएर आए । ‘सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई प्रशासन कार्यालयसम्म ल्याइ पु¥याउन निक्कै चुनौति छ,’ उनले प्रश्न गरे, ‘सदरमुकामकै पालिकामा यस्तो अवस्था छ, गाउँबाट हिँडेर आउनेहरुलाई झन कति सास्ती होला ?’
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यतिबेला जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा आम नागरिकहरुको भीड लाग्ने गरेको छ । चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहान पाँच बजेदेखि नै भीड लाग्ने गरेको छ । पलाँताकी छम्मकली सार्कीले सेवा लिन असहज भएको बताइन् । ‘हामी टाढाबाट आउनेहरुका लागि सरकारले चाँडो काम गरेर पठाइदिए हुन्थ्यो,’ उनले भनिन्, ‘समयसँगै पैसाको सत्यानास भइरहेको छ ।’

कालिकोट प्रशासनमा राष्ट्रिय परिचयपत्र लिनका लागि एउटा मात्रै दर्ता स्टेशन छ । जसले गर्दा सेवा लिन ढिलो हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सेवा लिनेको संख्या बढ्दा समस्या हुने गरेको बताए । ‘कार्यालय समयभन्दा पहिल्यैबाट सेवा दिने गरेका छौं,’ उनले भने, ‘सेवाग्राही धेरै हुँदा समस्या भएको हो ।’ उनले स्थानीय तहबाटै परिचयपत्र दिनको लागि विवरण दर्ता स्टेशन भइदिए प्रशासन कार्यालयलाई सहज हुने बताए ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलनका लागि सबै पालिकाहरूबाट सेवा प्रवाहको तयारी भइरहेको बताए । ‘मन्त्रालयसँग विवरण दर्ता स्टेशन माग गरेका छौं,’ उनले भने, ‘आएपछि टोली बनाएर विवरण संकलनको लागि पालिकामा पठाउँछौं ।’
दुर्गम जिल्लाका बढी सेवाग्राही
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राष्ट्रिय परिचयपत्र लिन आउनेहरु अधिकांस सुर्खेत बाहिरका छन् । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउने ८० प्रतिशत भन्दाबढी सुर्खेतभन्दा बाहिरी जिल्लाका सेवाग्राही रहेको बताए ।
‘जिल्ला प्रशासन कार्यालयसहित दुई वटा इलाका प्रशासन कार्यालयबाट पनि राष्ट्रिय परिचयपत्र बन्ने भएकाले स्थानीय सेवाग्राहीको भीड यहाँ हुँदैन,’ प्रजिअ उपाध्यायले भने, ‘यहाँ आउने ८० प्रतिशत सेवाग्राहीहरु कर्णालीका अरु जिल्लाका हुनुहुन्छ ।’ इलाका प्रशासन कार्यालय मेहलकुना र बावियाचौरबाट पनि प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरेको छ ।
कार्यालयमा आएर टोकन लगिसकेका सेवाग्राही उपस्थित रहेसम्म आफूहरुले सेवा दिने गरेको उनले बताए । ‘पाँच स्टेशन छन्, धेरै स्टेशन भएकाले सहज भएको छ,’ उनले भने, ‘सेवाग्राहीको उपस्थिति रहेसम्म सकेरै पठाउँछौं ।’
प्रकाशित: ५ भाद्र २०८२ १९:५९ बिहीबार





