जेन–जी आन्दोलनको आडमा बाँकेमा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति माथि भएको क्षतिको विवरण सङ्कलन गर्नै कठिन भएको छ । उक्त आन्दोलनको आडमा बाँकेका दर्जनौँ सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बाँके जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलास, भन्सार, आन्तरिक राजश्व कार्यालय, मालपोत, नापी, यातायात, कृषि ज्ञान केन्द्र, हुलाक, नरैनापुर र डुडुवा गाउँपालिका, प्रहरी चौकी जयसपुर, ट्राफिक प्रहरी, इलाका प्रशासन कार्यालय कोहलपुर, कोहलपुर नगर विकास समिति, राजश्व अनुसन्धान कार्यालय सहित दर्जनौँ सरकारी कार्यालय क्षतिग्रस्त छन् ।
आन्दोलनको आडमा अराजक समूहले नेपाली कांग्रेस र नेकपा एमालेको नेपालगन्जस्थित जिल्ला पार्टी कार्यालय तथा कोहलपुरमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कार्यालय, एमाले कोहलपुर नगर समितिको कार्यालय, नेकपा माओवादी केन्द्रको कोहलपुर नगर समितिको कार्यालयमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरेको छ ।
प्रदर्शनकारीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घरमा आगजनी गरिदिएका छन् भने उपप्रमुख संगिता सुवेदी र कोहलपुर–११ की वडाअध्यक्ष कल्पना शर्माको घरमा तोडफोड गरिदिएका छन् । जेन–जी आन्दोलनकै आडमा नेपालगन्जमा रहेको बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु बिकको सालिक तोडफोड गरेर ढालिदिएका छन्।
आन्दोलन पश्चात् जनजीवन सामान्य बन्दै गए पनि आगजनीबाट ध्वस्त भएका संरचना बेवारिसे अवस्थामा रहेका छन् । केही सरकारी कार्यालयमा कर्मचारीले आगजनीबाट क्षतिग्रस्त भग्नावशेषलाई पन्छाउन थालेका छन् । कतिपय कार्यालयमा कर्मचारीहरू भित्र प्रवेश गर्न समेत डराई रहेका छन् ।
जिल्लाका सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको यकिन तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन । कर्मचारीहरू अझै पनि त्रसित देखिन्छन् । आगजनीबाट जिल्लाको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय नै तहस–नहस भएपछि क्षतिको विवरण सङ्कलन गर्न नसकिएको एक कर्मचारीले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसहित उक्त कार्यालयका अधिकारीहरूले फोन उठाएका छैनन् ।
स्रोतका अनुसार प्रजिअसहितका अधिकारीहरू नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् । प्रजिअ जोशीको निवास समेत आगजनीमा परेको छ । आन्दोलनकारीले सरकारी कार्यालयसँगै क्वाटर समेतमा आगजनी गरेकाले कर्मचारीहरू बाहिर बसिरहेका छन् । ‘आन्दोलनबाट बाँके जिल्लामा के, कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन, अत्यावश्यक सरकारी कार्यालयमा सरसफाइ गर्न थालिएको छ, सबै कार्यालयले आफ्नो क्षतिको विवरण सङ्कलन गर्ने भन्ने छ,’ प्रशासन स्रोतले भन्यो ।
आन्दोलनकारीबाट सुरुमै निसानामा परेको नेपालगन्ज उपमहानगरपालिकामा भने कर्मचारीहरू जुटेर केही भग्नावशेषलाई पन्छाएका छन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले आगजनीबाट भवनसहित कुनै पनि सामान र कागजात नबचेको बताएका छन् । ‘जेन–जी आन्दोलन रोकिसकेपछि त्यही आन्दोलनको आडमा विभिन्न तत्त्वको हाम्रो कार्यालयमा प्रवेश भयो, त्यसपछि लुटपाट र आगजनी भयो,’ उनले भने ‘हाम्रो कार्यालयको कुनै पनि कोठा र भवन बाँकी छैनन्, कार्यालय परिसरमा राखिएका चारपांग्रे र मोटरसाइकल, स्कुटर गरी दर्जनौँ सवारी साधनमाथि आगजनी भएको छ, डकुमेन्टका हिसाबले हामी जिरो अवस्थामा छौँ ।’
कार्यालय परिसरमा आगजनीका भग्नावशेषलाई कर्मचारीको उपस्थितिमा पन्छाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले सुनाए । ‘हामीले सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ, माथिबाट कुनै आदेश नआउँदा सम्म र जनजीवन सामान्य नबन्दा सम्म सेवा दिने अवस्था नै छैन,’ शर्माले भने ।
आन्दोलनको आडमा गरिएका आगजनी, तोडफोड तथा लुटपाटबाट बाँकेका अधिकांश सरकारी कार्यालय शून्य अवस्थामा पुगेका छन् । ‘कार्यालयभित्र केही पनि बचेको छैन, मुद्दाका फाइल सबै जलेर खरानी भएका छन्, बस्ने ठाउँ छैन, काम गर्ने साधन छैनन्,’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘कार्यालय परिसरमा पुग्ने जो कोहीको पनि आँखा रसाउँछन् ।’
प्रकाशित: २७ भाद्र २०८२ १५:१६ शुक्रबार





