काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।
मर्मत कार्यको अनुगमन गर्दै उनले कुमारी घरसँग जोडिएका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षमा असर नपर्ने गरी समयमै काम सक्न निर्माण कम्पनीलाई भनेकी हुन्।
बोलपत्रमार्फत छनोट भएको अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता भई २५ गतेदेखि काम सुरु भएको छ। १ करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लागत अनुमान गरिएको यो काम निर्माण पक्षले ७१ लाख २४ हजार ६८९ रुपैयाँमा ठेक्का लिएको हो।
सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ। अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले कुमारी वहाल काठमाडौंको अनुहार भएको बताइन्। छानो चुहिएको सूचना पाएपछि महानगरले चासो राखेर काम अघि बढाएको उनको भनाइ छ।

‘जीर्णोद्धार सुरु हुनुअघि सरोकारवाला तथा स्थानीयसँग पटकपटक छलफल गरेर प्राविधिक अध्ययन गर्यौं। कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी साझेदारसँगको सहमतिका आधारमा काम थालिएको हो। सार्वजनिक महत्त्वको यस कामलाई सफल बनाउन सबै एकै ठाउँमा उभिनुपर्छ,’ डंगोलले भनिन्।
वडा नम्बर-२३ का अध्यक्ष मचाराजा महर्जनले उच्च प्राथमिकतामा राखेर नियमित निगरानीमार्फत समयमै काम सक्न सहजीकरण गर्ने बताएका छन्।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश राई, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीलगायत अधिकारी र स्थानीय सहभागी थिए।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार ४६४ वर्गमिटर क्षेत्रफल रहेको वहालको छानो मर्मत गर्दा सुरुमा पूर्व र उत्तर, त्यसपछि पश्चिम र दक्षिणतर्फको काम हुनेछ।
गत बर्खामा छानो चुहिएपछि साउन २० गते पुरातत्त्व विभागका विज्ञ पुरुषोत्तम डंगोलको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो। समितिमा विभागका इन्जिनियर रोशन डंगोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इन्जिनियर भीमप्रसाद अधिकारी र आर्किटेक्ट बज्राचार्य सदस्य थिए।

समितिको प्रतिवेदन अनुसार कुमारी घरका तीनै तलाको पर्खालमा चिरा परेको छ। काठ मक्किएका छन् भने दलिन कीराले खाएर प्वाल परेका छन्।
मर्मतमा अग्राखको सट्टा कुकाठ प्रयोग भएको र झिँगटी छानो धसिएको प्रतिवेदनले बताएको छ।
बज्राचार्यका अनुसार टुँडाल झरेका, आइरन बेल्ट खुस्केका र फलेकमाथि प्लास्टिक फेल्ट नराखी माटोमा झिँगटी राख्दा फलेक कुहिएका छन्। दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र तत्काल जोगाउनुपर्ने अवस्था छ।

प्रतिवेदनले कुमारीको दैनिक सेवा पूजालाई निरन्तरता दिँदै खट बाँधेर एकतर्फबाट बिस्तारै भत्काउन र पुराना सामग्रीको अधिकतम पुनःप्रयोग गर्न सुझाव दिएको छ।
नेवारी वास्तुकला र काष्ठकलाले सजिएको कुमारी घर राजा जयप्रकाश मल्लले वि.सं. १८१४ मा निर्माण गरेका हुन्। तलेजु भवानीको अवतार मानिने जीवित देवी कुमारीको निवास रहेको यो घर हनुमानढोका दरबार क्षेत्रको महत्त्वपूर्ण स्मारक हो।
यहाँ कलात्मक थाम, झ्याल, तान्त्रिक भित्तेचित्र र प्रस्तरका सिंह संरक्षित छन्।
प्रकाशित: ५ चैत्र २०८२ १४:३८ बिहीबार





