२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी

सङ्खुवासभाको मकालु गाउँपालिका–६, बास्थला गाउँमाथि बाक्लो जङ्गलको बीचमा एउटा विशाल ढुङ्गामाथि अवस्थित रहस्यमयी माङ्मा पोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

वर्षभरि पानी कहिल्यै नसुक्ने यो अनौठो पोखरी धार्मिक तथा पर्यटकीय हिसाबले अपार सम्भावना बोके पनि गुमनाम जस्तै बनेको हो।

बास्थला गाउँबाट करिब ३-४ किलोमिटरको उकालो चढेपछि पुगिने यो पोखरी एउटा ठूलो ढुङ्गाको बीचमा प्राकृतिक रूपमा बनेको छ। करिब ११ मिटर लामो, ६ मिटर चौडा र तीन मिटर गहिरो यो पोखरीमा सधैँ पानी भरिरहनुलाई स्थानीयहरू दैवी शक्तिको देन मान्छन्।

स्थानीय कुबेर राईका अनुसार पोखरीमा साक्षात देवताको बास रहेको जनविश्वास छ। विशेषगरी राई, कुलुङ र मेवाहाङ समुदायको आस्थाको केन्द्र रहेको यस पोखरीमा मबहान पर्वका अवसरमा विशेष पूजाआजा गर्ने चलन रहेको स्थानीय बज्रमान राईले बताए।

‘हामी धूपबत्ती बाल्छौँ, प्रसाद ग्रहण गर्छौँ,’ उनले सुनाए, ‘यहाँ नागदेवताको बास रहेको मान्यताका कारण कुनै पनि प्रकारको बलि वा हिंसात्मक कार्य पूर्ण रूपमा निषेध गरिएको छ।’

बाबुबाजेको पालादेखि नै पूजा हुँदै आएको यो पवित्र स्थललाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयहरूले पहल थालेका छन्।

स्थानीय अगुवा धनराज राईका अनुसार गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगमा पोखरीसम्म पुग्ने बाटो मर्मत गरिएको छ।

भक्तजन र पर्यटकको सुविधाका लागि प्रतीक्षालयसमेत निर्माण भइसकेको छ। ‘अब हाम्रो योजना यहाँ एउटा व्यवस्थित मन्दिर निर्माण गर्ने हो,’ राईले सुनाए।

प्राकृतिक आश्चर्य र सांस्कृतिक महत्व बोकेको माङ्मा पोखरीलाई स्थानीय तह र प्रदेश सरकारले विशेष योजना बनाएर प्रवर्द्धन गर्न सके यो सङ्खुवासभाको एक प्रमुख पर्यटकीय आकर्षण बन्न सक्ने देखिन्छ।

प्रकाशित: १२ श्रावण २०८२ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App