१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चाडबाडको यात्रामा राजमार्गको सकस

यात्रुलाई महंगो यात्राको बाध्यताः यातायात व्यवसायी

विमानस्थलमा पनि उत्तिकै भिड

मुग्लिन–नारायणगढ खण्डमा खसेको पहिरो पन्छाउँदै। तस्बिरः नागरिक

चाडबाडका बेला बारम्बार राजमार्गमा अवरोध उत्पन्न हुँदा हिडडुलका यात्रुले सकस खेप्नुपरेको छ। पछिल्लो केहीदिनदेखि पृथ्वीराजमार्गको मुग्लिन–काठमाडौं खण्डमा बारम्बार अवरोध आइरहेको छ। त्यस्तै मुग्लिन–नारायणगढ खण्डको तुइन खोला नजिकैको पहिरोले झनै बढि समस्या थपिदिएको छ। तुइन खोला नजिकैको पहिरोले राजमार्ग अवरुद्ध हुँदा दसैंका लागि पोखराबाट पूर्वतिर जाने यात्रु बढि प्रभावित भएका छन।  

काठमाडौंबाट पूर्व र पश्चिम क्षेत्रका लागि हिडेका यात्रुपनि घुमाउरो बाटोमा महंगोमा यात्रा गर्न बाध्य भएको यातायात व्यावसायीले बताएका छन। यातायात व्यावसायीका अनुसार पोखराबाट पूर्वतिर जाने यात्रुले साना गाडी रिजर्भ गरेर तनहुँको भिमाद हुँदै कालिगण्डकी करिडोर निस्केर नारायणगढ हुँदै यात्रा गरिरहेका छन।  

त्यसैगरि कतिपय यात्रुले अतिरिक्त भाडा तिरेर पोखराबाट सिद्धार्थ राजमार्गको स्याङजा हुँदै पाल्पाको राम्दी निस्केर कालिगण्डकी करिडोरबाट नारायणगढ हुँदै पूर्वको यात्रा गरिरहेका छन। घुमाउरो यात्रा गर्दा यात्रुले झन्डै एकसय किलोमिटर बढी दूरी यात्रा गर्नुपरेको छ। राम्दीदेखि गैंडाकोटसम्म १ सय ३२ किलोमिटर पर्छ। त्यस्तै पोखरादेखि राम्दीसम्म ९५ किलोमिटर पर्छ। पोखराबाट मुग्लिन हुँदै नारायणगढ भने जम्मा १ सय २५ किलोमिटर दूरी हो। पोखराबाट राम्दी हुँदै गैडाकोट निस्कँदा कम्तिमा एकसय किलोमिटर बढी दूरी यात्रा गर्नुपर्छ।

‘पोखराबाट पश्चिम खण्डमा जान खासै समस्या छैन। तर, पूर्वतिरका लागि भने सकस छ। यात्रुले महंगो बस भाडा तिरेर लामो दूरी पार गर्दै यात्रा गरिरहेका छन। यसले यात्रुमाथि आर्थिक भार थपिएको छ भने व्यावसायीलाई पनि सकस परेको छ,’ पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष ऐनकुमार साइ भन्छन, ‘कालिगण्डकी करिडोर नहुँदो हो त अहिलेको अवस्थामा पूर्वको यात्रा ठप्पै हुन्थ्यो।’  

राजमार्गको अवरोधले गर्दा पोखराबाट पूर्वतिर यात्रा गर्ने अधिकांश यात्रु पोखरामै रोकिएको पनि उनले बताए। ‘पूर्वतिर चल्ने अधिकांश गाडी अहिले ग्यारेजमा थन्किएका छन। यात्रुलाई सेवा दिएर कमाउने बेला राजमार्गले पिरलो थपिदिएको छ,’ उनले भने, ‘काठमाडौंबाट पश्चिम हिडेका सवारीको भीड पनि पोखराकै खण्डमा थपिँदा सिद्धार्थ राजमार्ग व्यस्त बनेको छ । यात्रुलाई यो बेला यात्रा सहज छैन।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल पनि चाँडबाँडका बेला राजमार्गको सकसले यात्रा असहज बनेको बताउँछन। ‘बारम्बारको पहिरोले कहाँ कुनबेला रोकिनुपर्ने भन्ने ठेगान छैन। ठाउँठाउँमा राजमार्गमा पहिरो खस्दा यात्रा खल्बलिएको छ। चाँडबाँडका लागि घर फर्किने तयारीमा रहेका यात्रुले सकस खेप्नुपरेको छ,’ दाहालले भने, ‘पोखरा–काठमाडौं रुटमा एकदिन मात्र पहिरोले अवरोध गरेको थियो। तर मुग्लिन–नारायणगढ खण्डको सकसले गर्दा बाटोमा लामो समय जामको समस्या पनि निम्तियो। पहिरोको भन्दा गाडीको जामले गर्दा यात्रा सकसपूर्ण बन्यो।’

सवारीले लेन अनुशासन कायम नगर्दा यात्रालाई असहज बनाएको ट्राफिक प्रहरीको भनाई छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका एसपी दानबहादुर थापा भन्छन, ‘लेन अनुशासन कायम हुने हो भने पोखरा–काठमाडौं यात्रालाई असहज होइन। तर, मुग्लिन–नारायणगढको पहिरोले रोकिएका गाडी र त्यसैमाथि लेन अनुशासन कायम नगर्दा सकस थपिएको छ। सम्पूर्ण चालक जिम्मेवार बनेर लेनमा पालो कुरेर बस्ने हो भने यात्रा केही सहज बन्छ।’

पहिरोका कारण मुग्लिन–नारायणगढ खण्डमा समस्या थपिएपछि काठमाडौं पश्चिम जाने सवारी पनि पोखरा हुँदै गुडिरहेका छन। पोखराबाट नारायणगढ हुँदै पूर्व र पश्चिम जाने सवारी पनि सिद्धार्थ राजमार्ग हुँदै यात्रारत छन। सबैतिरको यात्राको भार अहिले सिद्धार्थ राजमार्गमा थपिँदा सवारीको चाँप बढेको उनले बताए।

‘कम्तिमा यात्रुलाई खान र बस्नको समस्या नहोस भनेर आँबुखैरेनीमै गाडी रोकिदिएका छौ। पोखराबाट गएका गाडीको भीड कम हुनासाथ मुग्लिनलाई सहज हुन्छ। त्यसपछि आलोपालो प्रणालीबाट गाडी छुटाउँछौ,’ उनले भने, ‘सहरी क्षेत्रमा गाडी रोकिँदा यात्रु भोकभोकै त पर्दैनन। बालबच्चा र वृद्धवृद्धा पनि यात्रामा हुन्छन। उनीहरुलाई सवारी रोकिँदा बढी समस्या पर्छ।’

‘बाटो कतिखेर खुल्ने र बन्द हुने भन्ने ठेगान छैन। त्यसैमाथि चालकले लेन अनुशासन नमान्दा यात्रा झन्झटिलो बनेको छ । ट्राफिक व्यवस्थापन सहज बन्न सकेको छैन,’ उनले भने, ‘चालकले जर्बजस्ती अगाडि बढ्न खोज्दा पनि समस्या भएको हो।’ ट्राफिक प्रहरीले मुग्लिन खण्डमा सवारी रोकिएको खण्डमा लेन अनुशासन कायम गराउनका लागि पोखरा हुँदै गएका सवारीलाई आँबुखैरेनीमै रोकिदिने गरेको छ।  

‘कम्तिमा यात्रुलाई खान र बस्नको समस्या नहोस भनेर आँबुखैरेनीमै गाडी रोकिदिएका छौ। पोखराबाट गएका गाडीको भीड कम हुनासाथ मुग्लिनलाई सहज हुन्छ। त्यसपछि आलोपालो प्रणालीबाट गाडी छुटाउँछौ,’ उनले भने, ‘सहरी क्षेत्रमा गाडी रोकिँदा यात्रु भोकभोकै त पर्दैनन। बालबच्चा र वृद्धवृद्धा पनि यात्रामा हुन्छन। उनीहरुलाई सवारी रोकिँदा बढी समस्या पर्छ।’

विमानस्थलमा पनि उत्तिकै भिड

बाढीपहिरोले राजमार्गको यात्रा सकसपूर्ण बनेपछि त्यसको चाप हवाइ यात्रामा पर्न थालेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले काठमाडौंका लागि हुने हवाई उडान थपिएका छन। त्यस्तै यात्रुचाप पनि बढेको विमानस्थलले बताएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक सुर्य खत्रीका अनुसार यतिबेला बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दिनमा १५ वटा उडान गरिरहेको छ। त्यस्तै यती एयरलाइन्सले पनि यो बेला १० वटा उडान गरिरहेको छ। श्रीएयरलाइन्सले यो रुटमा दिनमा एउटा मात्र उडान गरिरहेको छ। बुद्धले पोखरा–काठमाडौं रुटमा बाहेक भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गरिरहेको छ।  

‘हवाई र यात्रु चाप बढेको छ। काठमाडौ–पोखरा रुटका हरेक उडान सतप्रतिशत नै यात्रु छन। पोखरा–काठमाडौं रुटमा पनि यात्रु चाप छ,’ खत्री भन्छन, ‘यात्रु बढेपछि हवाई कम्पनिले पनि उडान संख्या थपेका छन। विमानस्थल पनि यात्रुले भरिभराउ छ।’ स्थलमार्गको समस्याका कारणले हवाई यात्रामा यात्रु चाप बढेको पनि उनले बताए। हवाई चाप बढेपछि हवाई कम्पनिले पोखरामै जहाजको रात्रीबिसान पनि बढाएका छन। बिहान सबेरैदेखि राती ढिलासम्म उडान हुन थालेपछि अहिले बुद्धले ३, यतीले २ र श्री एयरलाइन्सले एउटा जहाजको रात्रीबिसान पोखरामै गर्ने गरेको पनि उनले बताए।

प्रकाशित: ९ आश्विन २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App