१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा कुल मुद्दाको आधा सम्बन्ध विच्छेदका मुद्दा

ताप्लेजुङ जिल्ला अदालतका कुल मुद्दामध्ये झण्डै आधा मुद्दा सम्बन्ध विच्छेदसँग सम्बन्धित देखिएका छन् ।

ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईका अनुसार आर्थिक बर्ष २०८०।८१ बाट आव २०८१।८२ का लागि जिम्मेवारी सरी आएका १ सय २७ सहित आव २०८०।८१ मा अदालतमा कुल ५ सय ७९ थान मुद्दा थिए । ती मध्ये २ सय ८० जना मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेदका २ सय ८० जना मुद्दामध्ये २ सय ३७ थान मुद्दा फस्यौट भएको छ भने ४३ थान मुद्दा चालु आवका लागि जिम्मेवारी सरी आएका छन् । मुद्दाको कुल संख्याका आधारमा सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा कुल मुद्दाको झण्डै ४९ प्रतिशत हाराहारी हुन आउँछ । आर्थिक बर्ष २०८१।८२ मा ताप्लेजुङ जिल्ला अदालतमा सो भन्दा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय २७ सहित कुल ५ सय ७९ थान मुद्दा रहेका थिए ।

अदालतका अनुसार आव २०८१।८२ को एक वर्षे अवधिमा ४ सय २० थान मुद्दा फर्स्योट गरी १ सय ५९ थान मुद्दा चालु आवका लागि जिम्मेवारी सरी आएका छन् । अब ताप्लेजुङ जिल्ला अदालतको इजलास भने आउँदो साउन १८ गतेबाट मात्र सुरु हुने छ। अदालतमा प्रयोग हुने रजिष्ट्रर व्यवस्थापन, आन्तरिक तयारी सहितको समग्र व्यवस्थापन कार्य पूरा भएपछि आउँदो साउन १८ गते आइतबारबाट अदालतको इजलास सुरु हुने जिल्ला न्यायाधीश विकास श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतका सूचना अधिकारी राईले अदालतको दैनिक कार्य सञ्चालन साबिक झैँ नियमित हुने तर आन्तरिक तयारी र व्यवस्थापनमा लाग्नुपर्ने भएकोले इजलास भने साउन १८ गतेका दिनबाट सञ्चालन हुने जानकारी दिए । 

फैसला कार्यान्वयनतर्फ भने कम मात्र प्रगति

निवेदन प्रतिवेदन तर्फको फर्स्योटतर्फ सत प्रतिशत सफलता पाएको ताप्लेजुङ जिल्ला अदालतमा फैसला कार्यान्वयन अन्तरगत निवेदन र कैद तथा दण्ड जरिवाना दुबैतर्फ अपेक्षाकृत नतिजा नआएको देखिएको छ । जिल्ला अदालतका अनुसार फैसला कार्यान्वयनको निवेदनतर्फ १ सय ३ थान लगतमध्ये ६४ थान फर्स्योट भई ३९ थान चालु आवका लागि जिम्मेवारी सरी आएका छन् । 

यस्तै कैदतर्फ १ हजार २ सय ३७ बर्ष ५ महिना २ दिन असुल लगत रहेकोमा हालसम्म १ सय १९ बर्ष ६ महिना ४ दिन फर्स्योट भएको छ । कैदतर्फ १ हजार १ सय १७ बर्ष १० महिना २८ दिन फर्स्योट हुन बाँकी रहेको छ । जरिवानातर्फ कुल लगत ३ करोड ३७ लाख ४९ हजार २ सय २९ रुपैयाँ लगत रहेकोमा १५ लाख २९ हजार ९ सय ४७ रुपैयाँ फर्स्योट भई ३ करोड ६१ लाख १९ हजार ३ सय ८२ रुपैयाँ फर्स्योट हुन बाँकी रहेको छ । 

प्रकाशित: १ श्रावण २०८२ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App