पहिला मानव बेचबिखन भन्ने बित्तिकै यौन शोषणका लागि महिलालाई बेचिन्छन् भन्ने थियो तर अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरुपहरु पनि फेरिएका छन् । अहिले पढे लेखेका महिला/पुरुष पनि बेचिने गरेका छन् ।
मानव अङ्ग बेचबिखन गर्नका लागि पनि मानवको तस्कर हुने गरेको छ । एउटा देशमा काम गर्न लगाइदिन्छु भनेर अर्को देशका लैजाने वा वैदेशिक रोजगारीमा जाने, ‘भिजिट भिसा’मा जानेहरु पनि बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।
मानव बेचबिखनमा परेर नेपाल फर्कन सफल शक्ति समूहका संस्थापक अध्यक्ष चरिमाया तामाङलाई मानव बेचबिखनको ठूलो सञ्जाल भएको अनुभव छ । ‘सूचना प्रविधिको विकाससँगै मानव बेचबिखनका रुपमा पनि बदलिँदै गएको छ, प्रविधिको सञ्जालीकरणका कारणले अहिले कुनै सिमाना छैन’, तामाङले भनिन्, ‘मानवलाई प्रविधिको सञ्जालको चक्रब्यूहमा पारेर बेचबिखन हुने गरेको छ, दलालले जालो फैलाएको छ, दुश्चक्रभित्र मानवहरु परेर बेचबिखन भइरहेको छ ।’
चरीमायालाई पनि पहिला यौन शोषणका लागि मात्रै बेचबिखन हुने भए पनि अहिले एउटा मात्रै तरिका वा उद्देश्यले मानव बेचबिखन हुन नगरेको अनुभव छ । ‘विगतमा गरिबका छोराछोरी बेचबिखनमा पर्ने थिए, पढ्ने अवसर नपाएका, अबोध छोरीहरु बेचिन्थे’, तामाङले भनिन्, ‘अहिले दलालमार्फत मात्र होइन, प्रविधिमार्फत जोडिन्छन्, नेपालभित्र र बाहिर बेचबिखन भइरहेको छ ।’
विसं २०५३ साउन ७ गते नेपाल आउन सफल भएकी शक्ति समूहका संस्थापक अध्यक्ष तामाङ १२८ नेपाली चेली भारतबाट स्वदेश ल्याउँदा नेपाल फर्कन सफल भएकी थिइन ।
सरकार २०५३ साउन ४ गते सय र सोही वर्षको साउनमा २८ जना स्वदेश फिर्ता गर्न सफल भएको थियो । ‘बेचिएर फर्कने महिलामध्ये एक म थिएँ, त्यो फर्कन पाएकामा धेरै खुसी लागेको थियो’, उनले त्यो पीडादायी क्षण सम्झँदै भनिन्, ‘बेच्ने दलाललाई कारबाही गर्नुपर्छ, कुनै पनि नेपाली छोरीहरु बेचिनु हुँदैन भनेर आफ्नो जीवनी प्रस्तुत गरेर सचेतना गराउने काममा लागिरहेको छु ।’
चरीमायालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रथम संशोधन विधेयक, २०८१ सदनमा विचाराधीन रहेको ऐन चाँडो पास गरेर तीन तहकै सरकारले यस विषयमा काम गर्नुपर्छ भन्ने लागेको छ ।
‘मानव बेचबिखनले डरलाग्दो रुप लिइरहेको छ, यो ऐन छिटो ल्याएर तीन तहकै सरकारले काम गर्नुपर्छ’, उनले भनिन, ‘कुनै पनि तरिकाले मानवको बेचबिखन हुनु हुँदैन ।’
यो ऐन संशोधन भएर आएमा सङ्घीयताअनुरुप तीनै तहका सरकारको जिम्मेवारीभित्र मानव तस्कर रोक्नु पनि हुनेछ । नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घमा हस्ताक्षर गरेअनुसार कानुन बन्छ । सरकारले कार्यान्वयन गरेको देखिन्छ ।
‘कानुनले धेरै हदसम्म मानव बेचबिखन रोकथाममा सहयोग गर्ने बताउँदै तामाङले भनिन्, ‘मानव अङ्ग कानुन विपरीत प्रत्यारोपण, मानव बेचबिखनमा यौन शोषण, श्रम शोषण, धेरै कुराको अन्य हुन्छ ।’
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रथम संशोधन, २०८१ प्रतिनिधिसभामा दर्ता भएको थियो । अहिले कानुन तथा मानव अधिकार समितिमा छलफल भइरहेको छ । भिजिट भिसामा गएका मानिसहरु पनि बेचबिखनमा पर्ने गरेको, रोजगारीमा जाँदा एउटा काममा पठाएको दलालले अर्को काममा अर्कै ठाउँमा पठाउने गर्दा मानिस अलपत्र परेर पनि बेचबिखनमा पर्ने गरेको पाइएको छ । रासस
प्रकाशित: २० भाद्र २०८२ १७:११ शुक्रबार





