राजधानी काठमाडौंका सडकमा युवा पुस्ताको उर्लिएको आक्रोशले विश्वको ध्यान खिचेको छ। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएको 'जेन-जी आन्दोलन' ले नेपालमा मात्र होइन, विश्वका प्रमुख समाचार माध्यममा पनि स्थान पाएको छ। यो आन्दोलन, जसलाई 'जनरेशन जेड प्रदर्शन' भनेर चिनिन्छ, युवाहरूको निराशा, अभिव्यक्ति स्वतन्त्रता र प्रणालीगत अन्यायविरुद्धको विद्रोहको प्रतीक बनेको छ।
अमेरिकाको प्रतिष्ठित दैनिक 'द न्यूयोर्क टाइम्स' ले यो आन्दोलनलाई नेपालको राजनीतिक संकटको रूपमा चित्रण गरेको छ। सोमबार काठमाडौंका सडकमा उत्रिएका प्रदर्शनकारी, मुख्यतः किशोर र युवा वयस्क, संसद् परिसरतिर बढ्दै गएका थिए भन्यो। प्रहरीले भीड तितरबितर पार्न रबर गोली र पानीको फोहोरा प्रयोग गरेको उल्लेख गर्दै पत्रिकाले यो आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई तीव्र दबाबमा पारेको बताएको छन्। न्यूयोर्क टाइम्सले यो घटनालाई सामाजिक सञ्जाल प्रतिबन्धको प्रत्यक्ष परिणाम ठानेको छ, जसले युवाहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्यो ।
अर्को, अमेरिकाकै 'एसोसिएटेड प्रेस' ले यो आन्दोलनलाई 'जेन जेडको विरोध' को रूपमा विस्तारपूर्वक कभर गरेको छ। उसले प्रदर्शनकारीहरूले काँडेतार पार गर्दै संसद् भवन घेरेपछि प्रहरीसँग झडप भएको थियो भन्यो। एपीले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धलाई मुख्य ट्रिगर ठानेको छ, जसमा फेसबुक, एक्स र युट्युब जस्ता २६ वटा प्लेटफर्महरू बन्द गरिए। नेपालका ३ करोड जनसंख्यामध्ये ९० प्रतिशतले सामाजिक सञ्जाल चलाउन इन्टरनेट प्रयोग गर्छन्। यो प्रतिबन्धले साना व्यवसाय र पर्यटनलाई असर पारेको छ।
एपीको रिपोर्टले प्रदर्शनकारीहरूको नारा जस्तै 'सामाजिक सञ्जालमा प्रतिबन्ध बन्द गर, भ्रष्टाचार बन्द गर' लाई हाइलाइट गरेको छ, जसले यो आन्दोलनलाई १९९५ देखि २०१० सम्म जन्मेका युवाहरूको प्रतिनिधित्व ठानेको छ। एपीले प्रदर्शनकारीहरूले प्रहरीलाई पछि हट्न बाध्य पारेको र कर्फ्यू घोषणा गरिएको विवरण दियो। एजेन्सीले यो आन्दोलनलाई अभिव्यक्ति स्वतन्त्रताको लडाइँ भनेको छ।
अमेरिकाको 'सीबीएस न्यूज' ले पनि यो घटनालाई प्रमुख स्थान दिएको छ। सीबीएसले सञ्चारमन्त्री पृथ्वी सुब्बाको कुरा समावेश गर्दै प्रहरीले बल प्रयोग गर्न बाध्य भएको बताएको छ। नेपालको सामाजिक सञ्जाल प्रतिबन्धलाई अनलाइन ठगी र नक्कली समाचार नियन्त्रणको बहानामा गरिएको सेन्सरशिप ठानेको छ। उसले यो आन्दोलनलाई अभिव्यक्ति स्वतन्त्रताको हननको रूपमा चित्रण गरेको छ।
साथै समाचारमा प्रदर्शनकारीहरूको नारा र राष्ट्रिय झण्डा फहराएको दृश्यलाई उल्लेख छ। उसले नेपालमा टिकटक र भाइबर जस्ता केही प्लेटफर्महरू मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई आलोचना गरेको छ।
बेलायतका सञ्चारमाध्यमले पनि महत्त्व दिएका छन्। बेलायतको 'बीबीसी' ले यो आन्दोलनलाई लाइभ फिडमार्फत कभर गरेको थियो। आन्दोलनस्थलका दुई भिडियो प्रमाणित गर्दै बीबीसीले प्रदर्शनकारीहरूले झण्डा फहराउँदै नारा लगाएको उल्लेख गरेको छ।
बीबीसीले यो भिडियो संसद् वरिपरि छायांकन गरिएको पुष्टि गरेको छ, जसमा प्रदर्शनकारीहरूले संसद् भवन तोडफोड गरेका थिए। जवाफमा प्रहरीले अश्रुग्यास प्रयोग गर्योस। बीबीसीले आन्दोलनलाई युवाहरूको व्यापक असन्तुष्टिको रूप भनेको छ। उसले गोली चलेको कुरा पनि रिपोर्ट पनि गरेको छ।
समाचारमा यो आन्दोलनलाई सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएर भ्रष्टाचारसम्म फैलिएको भनेर चित्रण गरिएको छ।
बेलायतकै 'द गार्जियन' ले यो घटनालाई दक्षिण एसियाली संवाददाताको माध्यमबाट कभर गरेको छ। सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र एक्स जस्ता प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि आन्दोलन चर्किएको भन्यो।
गार्जियनले यो प्रतिबन्धलाई घृणायुक्त भाषण नियन्त्रणको बहानामा गरिएको भनेको छ। यसबाट अभिव्यक्ति स्वतन्त्रतामाथि असर पारेको भनिएको छ। समाचारमा टिकटकमा भाइरल भएका भिडियोहरू उल्लेख गर्दै, राजनीतिज्ञका छोराछोरीको विलासी जीवनलाई युवाहरूको संघर्षसँग तुलना गरेको छ।
गार्जियनले प्रतिबन्धित प्लेटफर्महरूको सूची दिँदै, टिकटक जस्ता केही मात्र बाँकी रहेको उल्लेख गरेको छ। उसले यो कदमलाई प्रेस स्वतन्त्रताको लागि खतरनाक ठानेको छ। गार्जियनले पत्रकारहरूको विरोध पनि समावेश गरेका छ।
बेलायतको 'द इन्डिपेन्डेन्ट' ले पनि यो आन्दोलनलाई प्रमुख स्थान दिएको छ। जेन-जेड प्रदर्शनकारीहरू फेसबुक, युट्युब र एक्स जस्ता २६ प्लेटफर्महरूमा प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका थिए भन्यो। इन्डिपेन्डेन्टले सरकारको सेना परिचालन र कर्फ्यू लागू भएको कुरामा जोड दियो। यो आन्दोलनलाई युवाहरूको आक्रोशको प्रतिबिम्ब भनिएको छ। समाचारमा आन्दोलन देशव्यापी फैलिएको उल्लेख छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी 'रोयटर्स' ले यो आन्दोलनलाई 'जेन जेड प्रदर्शन' को रूपमा कभर गरेको छ। प्रदर्शनकारी संसद्मा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र रबर गोली प्रयोग गरेको समाचारमा उल्लेख छ। रोयटर्सले सरकारको प्रतिबन्धलाई युवाहरूको आक्रोशको कारण ठानेको छ। उसले प्रहरी कारबाहीको आलोचना गरेको छ। रोयटर्सले एम्बुलेन्समा आगो लगाएको र घाइतेहरूलाई मोटरसाइकलमा अस्पताल लगेको विवरण पनि दियो। रोयटर्सले समेत यो आन्दोलन देशका अन्य सहरमा फैलिएको भनेको छ।
कतारको 'अल जजीरा' ले यो घटनालाई विस्तृत रूपमा कभर गरेको छ। समाचारमा आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको भनियो। अल जजीराले प्रदर्शनकारीहरूको अन्तर्वार्ता समावेश गर्दै, श्रीलंका र बंगलादेशका आन्दोलनहरूबाट प्रेरित भएको लेखेको छ। अल जजीराले प्रदर्शन 'अभूतपूर्व' भएको र राजनीतिक दलसँग सम्बन्ध नभएको उल्लेख गरेको छ। उसले पनि भ्रष्टाचारका घटनाहरू र नेपाली राजनीतिज्ञका बच्चाहरूको विलासी जीवनलाई महत्त्व दिएको छ, जसले आन्दोलनको गहिरो जरा दर्साउँछ।
क्यानडाको 'सीबीसी' ले यो आन्दोलनलाई घातक प्रदर्शनको रूपमा चित्रण गरेको छ। उसले प्रदर्शनकारीहरूको स्कुल पोसाक र नारा बोकेको विवरण दिएको छ। उसले विराटनगर, भरतपुर र पोखरामा पनि विरोध भएको भनेको छ।
अमेरिकाको 'ब्लुमबर्ग' ले यो घटनालाई सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको आन्दोलन ठानेको छ। ब्लुमबर्गका अनुसार यसबाट नेपालको पर्यटन र व्यवसायमा असर परेको छ। ब्लुमबर्गले घटनालाई अराजकताको रूपमा चित्रण गरेको छ।
यो आन्दोलन छिमेकी देश भारतका मिडियामा पनि निकै चर्चाको विषय बन्यो। 'इकोनोमिक टाइम्स' ले यो आन्दोलनलाई 'फेसबुक र इन्स्टाग्राम प्रतिबन्धको विरोधमा नेपालका युवाहरू संसद्को ढोकामा भेला' शीर्षकमा कभर गर्योर। उसका अनुसार यो प्रतिबन्धले हालैका वर्षहरूमा सबैभन्दा ठूलो युवा विरोध प्रदर्शनहरू मध्ये एक निम्त्याएको भनेको छ। इकोनोमिक टाइम्सले पनि नेपालको पर्यटन र डिजिटल अर्थव्यवस्थालाई असर पार्ने बताएको छ।
'इन्डियन एक्सप्रेस' ले 'नेपाल जनरल जेड विरोध प्रदर्शनको प्रत्यक्ष अपडेट: सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सेना परिचालन' शीर्षकमा लाइभ अपडेट दियो। इन्डियन एक्सप्रेसमा युवाहरू प्रहरीसँग झडप हुँदा जेन जेडको विरोध हिंसात्मक बन्यो, जसले गर्दा काठमाडौं जिल्ला प्रशासनले नयाँ बानेश्वर क्षेत्र र वरपर कर्फ्यू लगाउन बाध्य भयो भनिएको छ। इन्डियन एक्सप्रेसले कर्फ्यू लगाइएको क्षेत्रहरूमा सेना तैनाथ गरिएको उल्लेख गरेको छ। सामाजिक सञ्जाल बन्द हुँदा लाखौँ नेपाली परिवारहरूलाई विदेशी आफन्तहरूसँग सम्पर्कबाट वञ्चित गरेको उल्लेख छ।
'इन्डिया टुडे' ले 'नेपालमा कसरी चम्किला नेपो केटाकेटीहरूले जेन जेडको विरोध प्रदर्शन निम्त्याए' शीर्षकमा कभर गर्योर। जेन-जी पुस्ता केपी शर्मा ओली सरकारको विरुद्धमा सडकमा उत्रनुको कारण सामाजिक सञ्जालमा व्यापक प्रतिबन्ध मात्र नभई, प्रणालीगत भ्रष्टाचार र राजनीतिक नातागोताका लागि विशेषाधिकारको आक्रोशको नतिजा भनेको छ। इन्डिया टुडेले 'नेताहरूका छोराछोरीहरू विदेशबाट गुच्ची झोला लिएर फर्कन्छन्, जनताका छोराछोरीहरू कफिनमा' जस्ता प्लेकार्डहरूको उदाहरण दिएको छ।
'हिन्दुस्तान टाइम्स' ले 'साथीको टाउकोमा गोली लाग्यो: नेपालका प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको आन्दोलनमा प्रहरीले हिंसा सुरु गरेको बताएका छन्' शीर्षकमा कभर गरेको थियो। हिन्दुस्तान टाइम्सले प्रहरीले पानीको फोहोरा प्रयोग गरेको दृश्यको साथमा यो आन्दोलनलाई सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको ठूलो आन्दोलन ठानेको छ। एक प्रदर्शनकारीको भनाइ उद्धृत गर्दै भनेको छ, 'हामी शान्तिपूर्ण विरोध गर्ने योजनामा थियौँ, तर प्रहरीले जनतामाथि गोली चलाइरहेका छन्।' समाचारमा अर्को प्रदर्शनकारीको बयान पनि छ, उनले भनेका छन्, 'प्रहरीले घुँडाभन्दा माथि लक्षित गरी अन्धाधुन्ध गोली चलाइरहेका छन्।'
'एनडीटीभी' ले यो आन्दोलनलाई 'भ्रष्टाचार र सरकारले धेरै मिडिया एपहरूमा लगाएको प्रतिबन्धको विरोधमा जेन-जेडका प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि नेपालको काठमाडौंमा भएको हिंसात्मक झडप' को रूपमा कभर गरेको छ। एनडीटीभीले प्रदर्शनकारीहरूले रूखका हाँगा र पानीका बोतलहरू फ्याँकेको र प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबर गोली प्रयोग गरेको जनाएको छ। उसले एक विद्यार्थीको भनाइ उद्धृत गर्दै भनेको छ, 'हामी सामाजिक सञ्जाल प्रतिबन्धबाट उत्तेजित भएका थियौँ, तर हामी यहाँ भेला हुनुको कारण त्यो मात्र होइन, नेपालमा संस्थागत गरिएको भ्रष्टाचारको विरुद्धमा विरोध गरिरहेका छौँ।' अर्की विद्यार्थीले सरकारको 'अधिनायकवादी मनोवृत्ति' विरुद्ध विरोध गरेको बताएकी छन्। एनडीटीभीले प्रतिबन्धको कारण दर्ता नभएका प्लेटफर्महरू भएको र सरकारले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने दाबी गरेको उल्लेख गरेको छ।
भारतको हिन्दी पत्रिका 'दैनिक भास्कर' ले '१९ जनाको मृत्युपछि नेपालमा सामाजिक सञ्जाल पुनः सुरु: प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा बिहानै युवाहरू संसद्मा प्रवेश गरेका थिए; सेनाको गोली लागेर २०० जना घाइते' शीर्षकमा कभर गर्यो । भास्करले यो आन्दोलनलाई युवा नेतृत्वको विरोधको रूपमा चित्रण गरेको छ। समाचारमा बिहानै १२ हजारभन्दा बढी युवा प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि गोली चलेको उल्लेख थियो। भास्करले यो नेपालको इतिहासमा संसद्मा घुसपैठको पहिलो घटना भएको बताएका छन्। समाचारमा काठमाडौं बाहेक पोखरा, बुटवल, चितवन जस्ता सहरमा पनि विरोध भएको उल्लेख छ। भास्करले यो आन्दोलनलाई जेन-जेडको नेतृत्वमा भएको क्रान्ति ठानेको छ।
प्राय: सबै मिडियामा नेपालको जेन-जी आन्दोलनलाई महत्त्व दिइएको छ। यो आन्दोलनले युवा पुस्ताको शक्ति प्रदर्शन गरेको छ। अभिव्यक्ति स्वतन्त्रता र न्यायको लागि युवालाई एकजुट गराएको छ। विश्वले यसलाई विभिन्न कोणबाट हेरे पनि, साझा सन्देश युवा विद्रोह हो। यसले नेपालमा भएको जेन-जी आन्दोलनलाई वैश्विक मञ्चमा ल्याएको छ।
प्रकाशित: २३ भाद्र २०८२ २१:०६ सोमबार

