सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको अवलोकन गर्न मिल्ने व्यवस्था भएको छ। बिपी राजमार्गबाट करिब एक किलोमिटरभित्र पर्ने सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी भित्ते लेखन भएको छ।
बिपी राजमार्गको निर्माणको क्रममा सिन्धुलीको पहिरो रोकथाम गर्न पहाड काटेर बनाइएको बिपी राजमार्गस्थित ढुङग्रेभन्ज्याङ नजिकैको घुम्तीलाई सेल्फिडाँडाको रूपमा परिचय बनेको थियो। उक्त स्थानलाई नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा सिन्धुलीगढी तथा युद्ध सालिक निर्माण गरी गढी डाँडा नाम राखिएको हो।
सिन्धुलीको ऐतिहासिक क्षेत्रलाई चिनाउन सहयोग पुग्ने गरी बिपी राजमार्गमा सिन्धुलीको पहिचान झल्काउने चित्र उक्त स्थानमा कोरिएको छन्। बिपी राजमार्गस्थित कमलामाई नगरपालिका–२ ढुङग्रेभन्ज्याङ नजिकै सिन्धुलीगढी सहित जिल्लाका ऐतिहासिक क्षेत्रका युद्ध सालिक भित्ते लेखन गरी सिन्धुलीको महत्त्व झल्काउने कार्य गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा बिपी राजमार्गको सेल्फी डाँडाको रूपमा परिचित स्थानको भित्तामा सिन्धुलीको महत्त्व झल्काउने कार्यका चित्र बनाइएको ९ नम्बर बाहिनीका बाहिनी पति युवराज कार्कीले बताए।
‘त्यहाँ सिन्धुलीकै पहिचान झल्काउन खोजिएको छ,’ उनले नागरिकसँग भने, ‘भद्रकाली मन्दिर, कमलामाई मन्दिर, सिन्धुलीगढी दरबार लगायतका चित्र भित्तामा कोरिएको छ ।’ इतिहासको जगेर्ना गर्ने काम सबैले गर्नुपर्ने बाहिनी पति कार्कीले बताए।
कमलामाई नगरपालिकाको ८ लाख सहयोगमा नेपाली सेनाको प्राविधिक टिमले २ महिना लगाएर युद्ध सालिक तथा भित्ते लेखन निर्माण गरी कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ।
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सिन्धुलीगढीसम्म पुग्न नसक्नेलाई अब राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी तस्बिर बनाइएको बताए । उनले भने, ‘सिन्धुलीगढी ऐतिहासिक क्षेत्र हो। इतिहासको जगेर्ना गर्न हामीले बिपी राजमार्गमै सिन्धुलीगढी झल्काउने तस्बिर बनाएका हौँ।’
नले इतिहासको संरक्षण गर्दै नयाँ पुस्तालाई इतिहास बुझाउँदै जानुपर्ने बताए । ‘सिन्धुलीगढी सिन्धुलीको मात्रै नभएर नेपालसहित विश्वकै इतिहास बुझाउने ठाउँ हो’, उनले भने, ‘त्यस्तो ठाउँमा सबै पुग्न नभ्याउन सक्छन्। त्यस्तो अवस्थामा यो बिपी राजमार्गबाट यात्रा गर्ने सबैले सिन्धुलीगढीको अवलोकन गर्न सकुन् भन्ने पनि उद्देश्य हो ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सिन्धुलीगढीको संरक्षण गर्दै थप प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्दै जानुपर्ने बताए।
प्रकाशित: ३ श्रावण २०८२ १८:०२ शनिबार





