जेनजी अभियन्ता मिराज ढुङ्गानाले गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्। उनले नेपालीको घटनालाई आत्महत्या नभई ‘आत्मदाह’ भएको भन्दै त्यसलाई नीतिगत रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
ढुङ्गानाले सार्वजनिक रूपमा ६ बुँदामार्फत नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै कसैले आफ्नै शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत मृत्यु नभई समाज र राज्यलाई दिइएको गम्भीर सन्देश र सङ्केत रहेको बताएका छन्।
उनले उक्त आत्मदाहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी विधेयकप्रतिको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। राज्यको नीतिप्रति नागरिकमा बढ्दो असन्तुष्टि र पीडाको अन्तिम अभिव्यक्तिका रूपमा यस घटनालाई हेर्नुपर्ने उनको भनाइ छ।
ढुङ्गानाले नेपाली जनताको आर्थिक अवस्था र जीवनस्तरलाई बेवास्ता गर्दै ल्याइएको विधेयकविरुद्धको प्रतीकात्मक प्रतिरोधका रूपमा आत्मदाह भएको बताउँदै यस घटनाले राज्यलाई नीतिगत ‘कोर्स करेक्सन’ गर्न सुझाव दिएका छन्।
उनले विवादित विधेयक फिर्ता लिएर पुनरावलोकन गर्न तथा नागरिकलाई अत्यधिक जरिवानाको भारबाट मुक्त गराउन सरकारसँग आग्रह गरेका छन्। उनले नेपालीको मृत्यु सामान्य घटना नभई राज्यलाई नीतिगत सुधारतर्फ बाध्य पार्ने ठूलो दबाबका रूपमा रहेको ढुङ्गानाले बताएका छन्।
ढुङ्गानाले नेपालीलाई शहीद घोषणा गरिए राज्य र जनताबीचको दूरी बढ्दा नागरिक कति हदसम्म जान बाध्य हुन्छन् भन्ने सन्देश स्थापित हुने बताउँदै गरिब मुलुकमा दण्ड र जरिवाना सम्बन्धी नीति बनाउँदा राज्य थप संवेदनशील बन्नुपर्ने बताएका छन्। साथै राज्यको अत्याचारको प्रतिरोधमा कुनै विकल्प नदेखेर गरिएको आत्मदाहलाई सरकारले मूल्याङ्कन गर्नुपर्ने बताएका हुन्।
प्रकाशित: २७ असार २०८३ १४:४९ शनिबार





