२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

खानेकुरा सफा, स्वच्छ नभए कारबाही गर्ने चेतावनी

हामीले दैनिक खाने चिया पसल, होटेल तथा रेस्टुराँहरूले सरकारले तोकेको खाद्य स्वच्छताको पुरा नियम पालना गर्नुपर्छ। तर, पछिल्लो समय खाद्य सेवा प्रदायक खाजा पसल, होटेल र रेस्टुराँहरूले नियम पालना नगरेको पाइएपछि खाद्य तथा गुण नियन्त्रण विभागले नियम पालना गर्न कडा चेतावनी दिएको छ।

गुनासो आएपछि खाद्य तथा गुण नियन्त्रण विभागले चेतावनी स्वरूप सूचना जारी गरेको खाद्य तथा गुण नियन्त्रण विभागकी प्रवक्ता बालकुमारी शर्माले बताइन्।

‘पछिल्लो समय फोहोर भएको,बासी खानेकुरा बिक्री गरेको धेरै गुनासो आइरहेको छ’, उनले भनिन्। खाद्य सेवा प्रदायकहरूले मापदण्ड तथा नियम पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा २५  बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको हो।

मापदण्डअनुसार हरेक भोजनालय तथा चमेना गृह, रेस्टुराँ, क्याटरिङहरुले स्थानीय तहबाट अनुमति पत्र लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

त्यसैगरी तोकिएको मापदण्ड बमोजिम खाद्य पदार्थ उपलब्ध गराउने, खाद्य पदार्थको प्रकृति बमोजिम आवश्यक आर्द्रता र तापक्रम मिलाउने, खाद्य पदार्थ तयारी तथा विक्री कक्षमा स्वच्छता कायम राख्ने र पहिचान पद्धति कायम राख्न निर्देशन दिएको छ।

त्यसैगरी खाद्य व्यवसायीहरूले खाद्य स्वच्छता राख्नको लागि कामदार, कच्चा पदार्थ, परिसर सफाइ कायम राख्ने, स्वच्छ र गुणस्तरीय पानी, खाद्य वस्तु मात्र प्रयोग गर्ने, खाद्य पदार्थ राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य पदार्थ छुट्टा–छुट्टै राख्ने, खाद्य पदार्थलाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने जस्ता नियम पालना गर्न पनि निर्देशन दिएको छ।

गर्मी मौसम र मनसुनको बखत खाद्य तथा पानी स्वच्छता कायम नभएमा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले यो पालि कडाइका साथ खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको उनले बताइन्।

गुनासो आउनु अघि पनि विभागले नियमित रूपमा खाद्य स्वच्छता मापदण्डको स्थितिको अनुगमन गरिरहेको र अनुगमनको क्रममा कारबाही भइरहेको उनले जानकारी दिइन्।

शर्माको अनुसार राजमार्ग र उपत्यका भित्रका भोजनालय, होटेल, रेस्टुराँ, दूध डेरी, मिठाइ पसल, रेस्टुराँ लगायतका खाद्य सेवा स्थलहरुमा मोबाइल टोलीले अनुगमन नियमित रूपमा गरिरहेको छ।

उक्त क्रममा टोलीले परिकारमा एक पटक प्रयोग भएको तेलको पुन प्रयोग भएमा, खाद्यान्नको कच्चा पदार्थ, खाद्यान्नमा राखिने रङ तथा अन्य सामाग्रीको गुणस्तर हेर्ने, खाद्यान्न वितरण स्थल, खाद्यान्न उत्पादन गर्ने स्थलको नाली तथा चुल्होको सफाइको स्थिति अनुगमन गरी कारबाही गरिरहेको छ।

‘सामान्य कमजोरीमा सचेत गराउँछौ, ठुलो गल्तीमा जरिवाना र जघन्य गल्तीमा खाद्यान्न सेवा प्रदायक होटेल, सेवा नै बन्द गरेका छौ,’ प्रवक्ता शर्माले भनिन्। यसको साथै कतिपय होटेल रेस्टुराँलाई दुईदेखि तीन लाख रुपैयाँ जरिवाना पनि भइरहेको जानकारी दिइन्।

प्रकाशित: ३१ असार २०८३ १७:५६ बुधबार