३१ असार २०८३ बुधबार
image/svg+xml
समाज

दुई वर्षपछि कारागारमुक्त भए बेचन झा, ठगी मुद्दाको सजायभन्दा बढी कैद भुक्तान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि करिब दुई वर्षदेखि कारागारमा रहेका बेचन झा बुधबार रिहा भएका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनी सुन्धारा कारागारबाट मुक्त भएका हुन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। तर उनी यसअघि नै तोकिएको सजायभन्दा दोब्बरभन्दा बढी अवधि कारागारमा बिताइसकेकाले अदालतको आदेशअनुसार रिहा गरिएको हो।

अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार झालाई रिहा गर्न मंगलबार राति नै कारागार प्रशासनलाई पत्राचार गरिएको थियो। सोही आधारमा बुधबार सबै प्रक्रिया पूरा गरी उनलाई कारागारमुक्त गरिएको हो।

झा २०८१ असार १४ गते पक्राउ परेका थिए। त्यसयता उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका थिए।

कारागारबाट रिहा भए पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित मुद्दामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनी तारेखमा बस्नेछन्।

यसअघि यही प्रकरणमा अदालतबाट सफाइ पाएका प्रतिक थापालाई पनि आवश्यक प्रक्रिया पूरा गरी तारेखमा रिहा गरिएको थियो।

प्रकाशित: ३१ असार २०८३ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App