११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

अझैं ‘अशान्त’ गौर : फेरि कर्फ्यु आदेश जारी

रौतहटको जिल्ला सदरमुकाम गौरमा आज बिहान ८:३० बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १:०० बजेदेखि लगाएको कर्फ्युलाई आज बिहान केही समयका लागि खुकुलो पार्दै पुनः निरन्तरता दिएको हो। गौर नगरपालिका–६ सवगढा गाउँमा दुई पक्षबिच भएको झडपपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले यो कदम चालेको हो।

स्थानीय प्रशासनले सर्वसाधारणको सहजताका लागि आज बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टाको समय अत्यावश्यक कार्यका लागि कर्फ्यु खुकुलो पारेको थियो। उक्त समय सीमा समाप्त भएलगत्तै बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश पुनः लागू भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक सूचनामार्फत जानकारी दिएका छन्। यस अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भेला हुन, सभा-जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको सीमा निर्धारण समेत गरेको छ। जसअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न पाउने छैनन्। आदेशको उल्लंघन गर्ने जोसुकैलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

प्रकाशित: १० फाल्गुन २०८२ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App