२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

वीरगञ्जको कर्फ्यु हटाइयो, भोलि बिहानसम्म निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको भन्दै प्रशासनले आज साँझ ४ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र आजै बसेको सर्वपक्षीय बैठकको निर्णय समेतका आधारमा कर्फ्युलाई निरन्तरता दिइरहनु नपर्ने देखिएको उल्लेख छ।

यसअघि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९ः४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।

कर्फ्यु हटाइए पनि परिस्थिति पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै प्रशासनले वीरगञ्जका निश्चित क्षेत्रहरूमा भने निषेधाज्ञा जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आजबेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यो समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न पाइने छैन।

प्रशासनले जारी गरेको आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले चेतावनी दिएका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App