जय ट्रफी पुरुष एलिट कपको दोस्रो चरणको खेलमा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मीले गतिलो जवाफ फर्काएको छ।
सोमबार पहिलो दिनको खेलको समाप्तिमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध ६८ रनको अग्रता कायम राखेको हो। बागमतीले ७ विकेटको क्षतिमा २५९ रनमा इनिङ्स डिक्लियर गरेपछि आफ्नो इनिङ्स थालेको आर्मीले पहिलो दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १९१ रन बनाएको छ।
आर्मीका लागि भीम सार्कीले ७४ रन बनाउँदा सन्तोष कार्की ४३ रनमा नटआउट छन्। ट्रितराज दासले ३८ रन जोडे । बलिङमा सन्दीप लामिछाने, रिजन ढकाल र विपिन आचार्यले समान एक विकेट लिएका छन्।
यसअघि पहिला ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा २५९ रनमा इनिङ्स डिक्लियर गरेको थियो। बागमतीका लागि आशुतोष घिरैयाले ७७, इशान पाण्डेले ६९ र विवेक मगरले ३१ रन बनाए । आर्मीका लागि सहाब आलमले ३, नरेन साउदले २ तथा बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिए ।
आफ्नो पहिलो खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले हराएको थियो । बागमती भने नेपाल एपीएफ क्लबसँग ८ विकेटले स्तब्ध बनेको थियो ।
यस्तै नेपाल एपीएफ क्लबविरुद्ध नेपाल पुलिस क्लबले पनि गतिलो जवाफ फर्काएको छ। पहिलो दिनको खेलको समाप्तिमा ५ विकेट गुमाएर पुलिसले १७९ रन बनाएको छ । एपीएफले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो ।
प्रकाशित: ११ फाल्गुन २०८२ १८:०८ सोमबार





