२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

ताप्लेजुङका चार स्थानको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने तयारी

ताप्लेजुङका चार स्थानको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने तयारी भएको छ । हिमाली बस्ती ओलाङचुङगोला, याङ्मा, ग्याब्ला र घुन्साका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी हुनेगरी जिल्ला निर्वाचन समन्वय समितिले आवश्यक तयारी थालेको हो ।  

फागुन २१ गतेको निर्वाचनबारे जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गरेको सरोकारवालाको अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले चार स्थानका मतपेटिका हेलिकोप्टरबाढ ढुवानी गर्नुपर्ने अवस्था आएको र यो जानकारी सरकारसहित निर्वाचन आयोगलगायतका निकायमा पेश गरेको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको ताप्लेजुङ भ्रमणका बेला समेत जिल्ला सुरक्षा समितिले चार स्थानको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था बताएको थियो । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीसहितले प्रतिनिधिसभाको निर्वाचनमार्फत समानुपातिकतर्फमा मात्र मतदान गर्न पाउने व्यवस्था रहेको प्रजिअ सेढाइँले बताए ।  

निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान गर्न पाउने स्थलभन्दा बाहिर खटाउनुपर्ने प्रावधान रहेको बताउँदै प्रजिअ सेढाइँले खटाईएका कर्मचारीको विवरणमा केही तलमाथि भए संशोधन गरिने बताए ।‘निर्वाचनमा खटिएका कर्मचारीले प्रत्यक्षतर्फ मतदान गर्न पाउने व्यवस्था छैन’ सेढाइँले भने । अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जिल्ला निर्वाचन कार्यालयमार्फत भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।  

आचारसंहिता अनुगमन अधिकृतद्धय यादव भट्टराई र यमनाथ गिरीले आचार संहिताको उल्लंघन र पालनाको अवस्था बारे बताएका थिए । जिल्ला निर्वाचन कार्यालयमा अनुसार ताप्लेजुङमा १ हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् ।  

अस्थायी मतदातामध्ये १ हजार २ सय १९ पुरुष र ४ सय ६४ महिला मतदाता रहेका छन् । अस्थायी मतदाताका लागि २ वटा मतदान केन्द्र निर्धारण गरिएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

जिल्ला निर्वाचन अधिकारी श्रेष्ठका अनुसार किराँतेश्वर मन्दिर परिसर फुङलिङ नगरपालिका वडा नं ४ र जिल्ला कारागार कार्यालय गरी अस्थायी मतदाताका लागि २ वटा मतदान स्थल निर्धारण गरिएको छ । 

प्रकाशित: ११ फाल्गुन २०८२ १८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App