जुम्लाका राजनीतिक दलहरूले आगामी निर्वाचनमा बालबालिकालाई प्रचारप्रसार, सभा, जुलुस तथा अन्य राजनीतिक गतिविधिमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। बालबालिकाको अधिकार संरक्षणका लागि दलहरू जिम्मेवार बन्नुपर्ने भन्दै दलका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन्।
बाल अधिकारका लागि साझा अभियान, कर्णाली प्रदेशमा आबद्ध ४० सामाजिक संघसंस्थाको आयोजनामा भएको निर्वाचन आचारसंहिता तथा बाल अधिकार संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागी दलका प्रतिनिधिले बालबालिकालाई निर्वाचन गतिविधिबाट टाढा राख्ने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका सभापति मक्करबहादुर भण्डारीले निर्वाचनका बेला मात्र नभई अन्य समयमा समेत बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्ने पार्टीको धारणा रहेको बताए। नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीले पनि पार्टी बालबालिकाको प्रयोग नगर्ने विषयमा प्रतिबद्ध रहेको बताए।
उनले विगतमा बालबालिकाले निर्वाचन सामग्री खेलौनाका रूपमा प्रयोग गरेका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा देखिने गरेको उल्लेख गर्दै आचारसंहिता पालना गराउने नियमनकारी निकाय थप प्रभावकारी हुनुपर्ने बताए।
नेकपा एमालेका प्रतिनिधि धिरज जैसीले बालबालिका प्रयोग गर्न नहुने कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको बताए। उनका अनुसार निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न नियमनकारी निकाय सक्रिय हुन आवश्यक छ।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यले दलहरूको प्रतिबद्धतासँगै नागरिक समाज र सामाजिक संघसंस्था पनि सक्रिय हुनुपर्ने बताए।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कडेलले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताए। उनका अनुसार विगतका निर्वाचनमा बालबालिका प्रयोग गर्ने उम्मेदवार तथा दललाई सचेत गराउने कामसमेत गरिएको थियो।
निर्वाचन आचारसंहिता, २०८२ ले प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन निषेध गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ। आचारसंहिता उल्लङ्घन भए प्रकृति र गम्भीरताअनुसार कारबाही हुन सक्ने व्यवस्था छ।
प्रकाशित: १६ आश्विन २०८३ १६:५८ शुक्रबार





