काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरू तत्काल निलम्बनमा पर्ने भएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमतिमा यो विषय समेटिएको हो।
सहमति पत्रको तेस्रो बुँदा अनुसार घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरनगरीय प्रहरी बलका कर्मचारीहरूलाई तत्कालका लागि निलम्बन गरिनेछ।
यसका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्र लेखी पठाउने र छानबिन आयोगको प्रतिवेदन नआउन्जेल उनीहरूलाई निलम्बनमा राखिने सहमति भएको हो।
घटनाको निष्पक्ष अनुसन्धानका लागि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति गरेको छ। उक्त समितिले गठन भएको सात दिनभित्र आफ्नो छानबिन प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाउनुपर्नेछ।
छानबिन समितिको प्रतिवेदन र सिफारिस बमोजिम दोषी देखिएका नगर प्रहरीहरूमाथि थप कानुनी कारबाही अघि बढाइने बताइएको छ।
प्रकाशित: २८ असार २०८३ १९:०० आइतबार





