भिसाको उद्धेश्यविपरित नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न फ्रान्सकी नागरिक काठमाडौंबाट पक्राउ परेकी छन् ।
अध्यागमन विभागको दृष्टिसूचीमा रहेकी उनी विभिन्न समयमा गरेर १५ पटकभन्दा बढी नेपाल आउने जाने गरेकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अध्यागमन अधिकारीको भनाइ छ ।
सन् २०१४ मा पहिलो पटक नेपाल आएकी उनले वर्किङ भिसा भने लिएकी थिइनन् । भिसा सकिनै लाग्दा टर्की, यूएईलगायत मुलुक जाने र लगत्तै नेपाल आउने गर्नुले उनको क्रियाकलाप शंकास्पद देखिएको बताउँदै अध्यागमन विभागले पर्यटन भिसामा नेपाल आएर व्यापार व्यवसाय गर्न छुट नभएको स्पष्ट पारेको छ ।
विभागका अनुसार, उनले लैनचौरमा बेकरी क्याफे सञ्चालन गरेको, ललितपुरमा रैथाने फुड्समा सहलगानी गरेको र कारोबारको रकम आफ्नै बैंक खातामा जम्मा गर्ने गरेको पाइएको छ । नेपाल बस्न वाल्मिकी विद्यापीठमा भर्ना भई पटकपटक अध्ययन भिसा लिएपनि अध्ययन पूरा भने गरेको नपाइएको ती अधिकारी बताउछन् ।
उनका हरेक क्रियाकलाप अध्यागमन ऐन र अध्यागमन नियमावली विपरित रहेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
प्रकाशित: २२ श्रावण २०८२ १६:३५ बिहीबार





