बागलुङ–१३ का अर्जुन पाैडेलका लागि वैदेशिक रोजगारी रोजगारी मात्र होइन, जीवनलाई पुनः उभ्याउने संघर्षको कथा हो। उनी परिश्रमले भाग्य बदल्न सकिन्छ भन्ने एक उदाहरणीय व्यक्ति हुन्। भारतमा अफिस बोयबाट सुरु भएको उनको यात्रा आज जापानको टोकियोमा सेफका रूपमा स्थापित भएका छन्।
वैदेशिक रोजगारीका क्रममा जापान पुगेका अर्जुनको वर्तमान जीवन हेर्दा व्यवस्थित र सन्तोषजनक देखिए पनि यहाँसम्म आइपुग्न उनका जीवनका बाटा सहज थिएनन्। २०६२/६३ को जनआन्दोलनको समयमा एसएलसीमा प्रथम डिभिजनसहित उत्तीर्ण अर्जुनसँग सपना त ठुलै थिए तर देशको राजनीतिक अस्थिरता र अवसरको अभावले ती सपना साकार पार्ने वातावरण थिएन।
परिवारको माझमै रहेर पढाइ पूरा गर्न रहर त उनलाई कहाँ नभएको हो र? तर आफूले सोचेजस्तो केही नभएपछि उनी रोजगारीको खोजीमा भारत पुगे। २०६४ तिर भारत पुगेका उनले अफिस बोयको कामबाट आफ्नो यात्रा सुरु गरे। न्यूनतम तलब, कठिन परिश्रम र संघर्षबिच उनले झन्डै १० वर्ष भारतमा बिताए।
अफिस बोयको काममै सीमित नरही अर्जुनले आफूलाई समयसँगै परिवर्तन गर्दै लगे। खाना बनाउन इच्छुक भएका उनले कुक ट्रेनिङ लिएसँगै होटेल–रेस्टुरेन्टमा हेल्प, वेटर हुँदै क्याप्टेन बने। मेहनत र सीपको कदर हुँदै गएपछि उनी आफैं किचेन सम्हाल्न सक्ने अवस्थामा पुगे र अन्ततः सेफ बने।
उनको क्षमताको कदर भारतकै चर्चित ‘डा. मोहन डायबिटिज हस्पिटल’ ले गर्यो, जहाँ उनले चार वर्षसम्म क्यान्टिनका सिनियर सेफका रूपमा काम गरे। त्यसपछि आत्मविश्वास र अनुभवको बलमा भारतको चेन्नईमा आफ्नै गेस्टहाउस सञ्चालन गरेको उनले नागरिकलाई बताए।

पाँच वर्षसम्म आफ्नै व्यवसायमा रमाएका अर्जुनले गेस्ट हाउससँगै एजेन्सी सेवा पनि सुरु गरे तर उनको जीवन सधैं एउटै गतिमा चल्न सकेन। कोरोना महामारी र लकडाउनले उनका सबै योजना चकनाचुर बनायो। ‘कोरोनाको चपेटाले मलाई थिच्नु थिच्यो’, नागरिकसँग अर्जुनले भने, ‘आठ लाख रुपैयाँ लगानी गरिएको गेस्टहाउस तीन वर्षसम्म बन्द भयो। व्यवसायहरू सबै ठप्प भएपछि म कामविहीन भए।’
त्यसपछि सबै काम छोडेर २०७९ सालमा नेपाल फर्किएको उनी बताउँछन्।
नेपाल फर्किएका उनले यहाँ पनि अवसर खोजे तर खोजेअनुसारको आम्दानी नै नभएपछि पुनः वैदेशिक रोजगारीतर्फ बाध्य भए। ‘नेपालको राजनीतिक र सामाजिक अवस्था पनि अनुकूल नदेखिएपछि जापानमा रहेका भाइ–बुहारीको सहारामा त्यहाँ जाने निर्णय गरे’, उनले भने, ‘आफ्नो पेसाअनुसार कुक भिसामा आवेदन दिएको महिना दिनमै भिसा आयो। त्यसपछि जापान उडे।’
अहिले जापान गएको दुई वर्ष पूरा भइसकेको छ। जापानस्थित टोकियोमा नेपाली रेस्टुरेन्टमा सेफका रूपमा कार्यरत अर्जुनले पत्नीलाई पनि डिपेन्डेन्ट भिसामा जापान लगिसकेको बताउँछन्।
अर्जुन र उनकी पत्नीको संयुक्त मासिक आम्दानी नेपाली करिब तीन लाख रुपैयाँ बराबर हुन्छ। ‘आधा खर्च हुन्छ, आधा जोगिन्छ’, उनी भन्छन्, ‘१२ वर्षको छोरा र आमालाई नेपालमै छाडेर आएका छौं। त्यसैले नियमित रूपमा पैसा पठाइरहनुपर्छ।’
जापानको अनुभवबारे अर्जुन भन्छन्, ‘कुक भिसामा आउने नेपालीले धेरै भाषा जान्नुपर्छ भन्ने हुँदैन। सामान्य शब्द बुझ्न सके पुग्छ, बाँकी भाषा यहाँ आएर पनि सिक्न सकिन्छ तर नेपाली रेस्टुरेन्टमा काम गर्दा भाषा ठुलो समस्या होइन।’
वैदेशिक रोजगारीका जोखिमबारे जापानमा पनि सचेत रहन उनी सुझाउँछन्।
‘१२/१५ लाख खर्च गरेर जापान आएका धेरै नेपाली समस्यामा परेका छन्। जापानमा आफन्त छन् भन्दै लाखौं बुझाएर आउँछन् तर यहाँ आएपछि सोचेजस्तो काम नपाउँदा अन्योल र दुःखमा पर्छन्’, उनी भन्छन्।
जापानको नीतिअनुसार कुक भिसामा आएका श्रमिकले बाहिरको काम गर्न पाउँदैनन्। नयाँ काममा सजिलै सर्न नपाइने नियमकै कारण धेरै नेपाली अप्ठ्यारोमा पर्ने गरेको उनको अनुभव छ।
तर जापानी समाजप्रति उनको धारणा भने सकारात्मक छ। ‘यहाँ विदेशी कामदार भनेर हेपिँदैन। इमानदार भएर काम गर्यो भने सम्मान पाइन्छ। काम गर्नेलाई जापान राम्रो छ, काम नगर्नेलाई गाह्रो’, नागरिकसँग अर्जुनले भने।
जापानको आम्दानी मात्र होइन, अर्जुनको भारतसँगको पुरानो काम पनि अझै सक्रिय छ। भारतमा उनले खोलिएको कन्सल्टेन्सी मार्फत १८ जनालाई रोजगारी दिएका छन्। अल इन्डिया स्तरमै काम दिने उक्त कन्सल्टेन्सीबाट मासिक झन्डै ४० हजार रुपैयाँ आम्दानी हुन्छ। उक्त आम्दानी नेपालमा रहेका परिवारको खर्चका लागि प्रयोग भइरहेको उनले जानकारी गराए।

भारतमा अफिस बोयबाट सुरु भएको अर्जुन पौडेलको यात्रा आज टोकियोको सेफसम्म आइपुगेको छ। यो कथा एक व्यक्तिको सफलता मात्र होइन। यस्ता केही सफलताको कथा बोकेका नेपाली युवा वैदेशिक रोजगारीमा रमाइरहेका छन्। त्यसरी उनीहरूको पछाडि अवसर, संघर्ष र निरन्तर मेहनतको ठुलो योगदान छ।
जीवनमा ठुलो मोड आउँछ भन्ने आशाले धेरै नेपाली जापानको बाटो रोज्ने गर्छन् तर सबैले रोजेको बाटोमा काँडा नहुने भन्ने हुँदैन। साथै सोचेजस्तो जापानमा काम गर्न त्यति सहज पनि नभएको अधिकारीहरू बताउँछन्।
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालबाट लाखौं ऋण लिएर जापान उड्नेहरूको सपना दुःखीको जीवनजस्तै बन्न थालेको छ। यहाँका एजेन्ट र दलालहरूले जापान जान किन भाषा चाहियो र? होटेलमा काम छ, मासिक ३/४ लाख सजिलै कमाइन्छ भन्दै १५–२० लाख रुपैयाँ रकम असुल्ने गरेको उनले बताए।
उनका अनुसार जापानबाट दैनिक चार/पाँच जनाकाे फोन आउँछ वाट्सएप र फोनमार्फत काम पाइएन, खान र बस्न पाएनौं, उद्धार गरिदिनुस् भनेर। युवाहरूले कुक वा होटेलका काममा जाने आशामा पैसा बुझाउँछन्। नेपालीले नै जापानमा होटेल खोलेका छन् भने भाषा नजानेको भए पनि हुन्छ, तीन/चार लाख मासिक तलब हुने सपनाले अझ युवा लोभिने गरेको उनी बताउँछन्।
‘नेपाली युवा जापानमा काम नपाएर भौंतारिएका हुन्छन्’, नागरिकसँग उनले भने, ‘अनि सडकमै बस्नुपर्छ। कतिलाई सडकबाटै हामीले उद्धार गरेका छौं। हिजोआज नेपालमा जापान जाने हुटहुटी दिनदिनै बढ्दो छ तर एजेन्टहरूको जालोमा अड्किएर, भाषाविना अन्धाधुन्ध उडेर जापान पुग्छन् अनि त्यहाँ गएका कत्तिले जीवन नै अन्धकार बनाइरहेका छन्।’
सात महिना, आठ महिना, कतिपय एक वर्षसम्म पनि काम नपाएर भोकै बस्न पुगेका युवा ‘मलाई नेपाल फर्काइदेऊ’ भन्दै रोइकराइ उद्धारको गुहार आउने गरेको गोलेले नागरिकसँग भने। ‘हामीकहाँ जापानबाट उद्धारका मुद्दा दिनदिनै बढिरहेका छन्। मिठो सपना देखाएर लैजाने र पछि बिचल्ली बनाइदिने यो स्थिति बढिरहेको छ’, उनले भने।
जापान जस्तो विकसित देशको सपना धेरैलाई लोभलाग्दो लाग्छ, तर लोभभन्दा अगाडि सत्य थाहा नभए सपना नै जीवनको सबैभन्दा ठुलो बन्न पुग्छ। एजेन्टहरूको मिठो भाषण र झुटा आश्वासनको लहलहैमा परेर धेरै नेपाली युवा लाखौंलाख ऋण उठाएर जापान उड्छन्, तर त्यहाँ पुगेपछि काम नपाएर अलपत्र पर्ने उनले बताए।
उनका अनुसार आशा–भरोसा सबै भत्किएपछि कतिले बुझाएको सबै रकम उठाइदेऊ भन्दै नेपाल फर्किएर उद्धार नेपालको ढोका ढकढक्याउन आउने गर्छन्। उनीहरूका माग, पीडा र बिचल्लीका यस्ता घटना हिजोआज दिनैभरि दोहोरिने दर्दनाक कथा बनिरहेका छन्।
वैदेशिक रोजगार विभागमा सरकारी उजुरीहरू कमै आउने गरेको विभागका अधिकारीहरू बताउँछन्। सरकारी तथ्यांकमा भने जापानसम्बन्धी उजुरी न्यून देखिन्छ।
प्रकाशित: ८ माघ २०८२ ०९:४१ बिहीबार





