१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर

टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१ दशमलव ७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ। 

कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३ दशमलव १ प्रतिशतले घटेर ८लाख ४९ हजार ३०६ सवारीसाधनमा पुगेको छ। यससँगै लगातार तेस्रो महिनासम्म बिक्री घट्ने क्रम जारी रहेको छ। तर, विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ। जुन अप्रिल महिनाकै लागि रेकर्ड उच्च उत्पादन हो।  

विदेशी बजारमा टोयोटाको बिक्री ७ दशमलव ५ प्रतिशतले घटेर ६ लाख ९९हजार ३८२ युनिटमा झरेको छ। अमेरिकामा बिक्री ४ दशमलव ६ प्रतिशतले घटेर २ लाख २२ हजार ३७८ युनिट पुगेको भने मध्यपूर्वमा बिक्री ३३ दशमलव ७ प्रतिशतले घटेर ३१ हजार ३६० युनिटमा सीमित भएको छ। 

यता जापानभित्रको घरेलु बिक्री भने २४ दशमलव २ प्रतिशतले बढेर १ लाख ४९हजार ९२४ युनिट पुगेको कम्पनीले जनाएको छ। मार्च अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने घोषणा भएपछि खरिद स्थगित गरेका उपभोक्ताहरू पुनः बजारमा फर्किएपछि बिक्री बढेको बताइएको छ।  

उत्पादनतर्फ, टोयोटाको विदेशी उत्पादन ३ दशमलव ८ प्रतिशतले बढेर ५ लाख ६७ हजार ५७८ युनिट पुगेको छ भने जापानभित्रको उत्पादन १ दशमलव ७ प्रतिशतले घटेर २ लाख ६४ हजार ३९३ युनिटमा झरेको छ।    

प्रकाशित: १४ जेष्ठ २०८३ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App