नेपाली कांग्रेसले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले निकालेको प्रतिवेदनप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। साथै कांग्रेसले सरकारलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ।
कांग्रेसले बिहीबार वक्तव्य जारी गरी गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘अधुरो, अपूर्ण र अस्पष्ट’ रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले त्यसलाई अझै पुष्टि गरेको बताएको छ।
पार्टीले आयोगको प्रतिवेदनमा जाँचबुझ आयोगकै अध्यक्षमाथि समेत प्रश्न गरेको भन्दै कार्की आयोगको प्रतिवेदन निष्पक्ष नरहेको आशंका थप बलियो बनेको जनाएको छ। साथै प्रतिवेदन आम निर्वाचनअघि सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको बताएको छ।
कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग रहेको प्रतिवेदनमा उल्लेख रहेको भन्दै पछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, तोडफोड, लुटपाट तथा हत्या जस्ता घटनाहरू भएको र त्यसमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कारबाही आवश्यक रहेको प्रतिवेदनमा उल्लेख भएको बताएको छ।
साथै राज्य संयन्त्रको असफलता तथा सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि मानवअधिकार उल्लंघनका रूपमा आयोगले व्याख्या गरेको भन्दै संवैधानिक तथा कानुनी दायराभित्र कारबाहीको माग गरेको छ।
पार्टीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक निकाय भएकाले उसका सिफारिसहरू कार्यान्वयन गर्नु राज्यका निकायहरूको दायित्व भएको जनाएको छ।
प्रकाशित: १४ जेष्ठ २०८३ १४:३३ बिहीबार





