नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। इन्डोनेसिया भने अंकविहीन बन्यो।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन्। सोनी पाख्रिनले २९ रन बनाइन् । २० रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन इन्दु र सोनीले चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे। ओपनरद्वय सम्झना खड्का १ र पूजा महतो ९ तथा रुवी पोद्दार शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। रुबिना क्षेत्री गोल्डेन डक आउट भइन्।
इन्डोनेसियाका लागि निमेड सुवान्देवी र नी अरियानीले समान २ विकेट लिइन्।
यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो।
इनिङ्सकै पहिलो ओभरमा आफ्ना ओपनरलाई गुमाएको इन्डोनेसिया मध्यक्रममा सम्हालिएपछि सम्मानजनक योगफ तयार पार्न सफल भयो । उसका लागि क्याप्टेन नीपुटु आयुनन्दाले नटआउट ५६ रन बनाइन्। यस्तै नीलुह देवीले २३ रन जोडिन्।
नेपालका लागि मनिषा उपाध्यायले २ र रिया शर्माले एक विकेट लिइन्।
प्रकाशित: १४ जेष्ठ २०८३ १४:५० बिहीबार





