अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। जनजीवन र यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीले आइतबार दिउँसो ३:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवा र सिन्धुपाल्चोक हुँदै चीन जोड्ने सडकखण्डसहित कोशी र अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार, बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्। केही स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि दर्जनौं स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ।
पूर्ण रूपमा अवरुद्ध प्रमुख राजमार्गहरू:
कोशी राजमार्ग: संखुवासभाको भोटखोलामा अवरुद्ध।
नेपाल-चीन नाका जोड्ने पुल (रसुवा): गोसाइँकुण्डमा आएको बाढीले पूर्ण अवरुद्ध।
पासाङल्हामु सडक खण्ड (रसुवा): गोसाइँकुण्डमा बाढीले अवरुद्ध।
गल्छी-त्रिशूली-स्याफ्रु सडक (रसुवा): उत्तरगयामा पहिरोले अवरुद्ध।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशीको कोदारीमा पहिरोले अवरुद्ध।
कालीगण्डकी करिडोर (बागलुङ): बागलुङ नगरपालिका-१२ कालाखोलामा पहिरोले अवरुद्ध।
जाजरकोट-डोल्पा सडक (रुकुम पश्चिम): आठबिसकोटमा बाढीले पूर्ण अवरुद्ध।
एकतर्फी सुचारु रहेका प्रमुख राजमार्गहरू:
काठमाडौं-नुवाकोट सडकखण्ड: टोखामा एकतर्फी सुचारु।
मध्य पहाडी लोकमार्ग: तेह्रथुम र लमजुङका विभिन्न स्थानमा एकतर्फी सुचारु।
कालीगण्डकी करिडोर: बागलुङको दब्ल्याङ र नवलपरासी पूर्वको गैंडाकोटमा एकतर्फी सुचारु।
पृथ्वी राजमार्ग: तनहुँको बन्दिपुरमा एकतर्फी सुचारु।
राप्ती राजमार्ग (दाङ) र शहीद राजमार्ग (रोल्पा): एकतर्फी सुचारु।
प्रकाशित: २५ श्रावण २०८२ १६:५५ आइतबार





