अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीन मुख्य सडक अवरुद्ध भएका छन्। जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्।
कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–१ को गरगरे, वडा नम्बर–२ को मिल्क र वडा नम्बर–३ को कनौटामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ। लगातार वर्षाका कारण रिडी–तम्घास सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ को सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। त्यसैगरी रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरे खोला र वडा नम्बर–५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडक पनि पूर्णरूपमा अवरुद्ध भएको सूचना अधिकारी सारुले जानकारी दिएका छन्।
उक्त क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेकाले वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोगिरहेका छन्। लगातार वर्षाका कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सयभन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ। रासस
प्रकाशित: १९ श्रावण २०८२ ०७:३५ सोमबार





