२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा भेटियो १२ फिट लामो ‘किङ कोब्रा’

उद्धारकर्ता विशाल पाण्डे।

रुपन्देहीको देवदह नगरपालिकामा बुधबार नेपालमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्प फेला परेको छ।

सामान्यतया पहाडी भेगमा पाइने यो प्रजातिको सर्प तराई क्षेत्रको रुपन्देहीमा जीवितै भेटिएको यो पहिलो पटक हो।

देवदह नगरपालिका-१०, चरङ्गेस्थित लेमकुमारी रानामगरको घरमा देखिएको उक्त राजगोमनलाई सर्प उद्धारकर्ताहरूको टोलीले नियन्त्रणमा लिएको थियो।

सर्प उद्धारकर्ता विशाल पाण्डेको नेतृत्वमा खटिएको ‘बुटवल स्नेक रेस्क्यु टिम’ ले करिब तीन घण्टाको अथक प्रयासपछि उक्त सर्पको सफल उद्धार गरेको हो।

उद्धार गरिएको राजगोमन १२ फिट ३ इन्च लामो र ७ किलो २०० ग्राम तौलको रहेको पाण्डेले जानकारी दिए। उद्धार टोलीमा नवीन पौडेल, सागर पाण्डे र विश्वास पाण्डे लगायतका सदस्यहरू सहभागी थिए।

यसअघि करिब १४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा एक मृत राजगोमन फेला परेको भए तापनि जीवितै फेला परेको यो पहिलो पटक हो।

उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालय, रुपन्देहीका प्रतिनिधिको रोहबरमा आवश्यक सर्जमिन गरी सोही दिन सुरक्षित वासस्थानमा छाडिएको छ।

राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प मानिन्छ। सामान्यतया मानिसलाई बेवास्ता गर्ने र नजिक नआउने स्वभावको हुन्छ। विज्ञहरूका अनुसार नेपालमा हालसम्म राजगोमनले मानिसलाई टोकेको कुनै आधिकारिक विवरण छैन।

यो सर्पले मुख्यतया अन्य सर्पहरूलाई आफ्नो आहारा बनाउने गर्दछ। नेपालमा पाइने करिब ८२ प्रजातिका सर्पमध्ये राजगोमन अत्यन्त दुर्लभ प्रजाति मध्य एक हो।

पछिल्ला केही वर्षयता नेपालका मध्यपहाडी क्षेत्रहरूमा राजगोमन फाट्टफुट्ट देखिन थालेपछि यसको वासस्थान र संरक्षणबारे विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्।

जलवायु परिवर्तनका कारण तापक्रममा आएको वृद्धिसँगै यस्ता जीवहरू नयाँ वासस्थानतर्फ सर्दै गएको हुनसक्ने केही विज्ञहरूको अनुमान छ।

प्रकाशित: २७ कार्तिक २०८२ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App