वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन्। खेतबारीमा लगाएको मकै, कोदोलगायत अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रूपमा टिमुरखेती गर्न थालेका हुन्।
टिमुरखेती गर्दा क्षति नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताए। यहाँका प्रायः सबैले बारीभरि टिमुर लगाएको उनले बताए।
‘यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउन सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ,’ घर्तीले भने। टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ।
पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छन्। दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनले बताए।
उनले भने, ‘हरेक वर्ष बारीमा मकै लगायो, बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन्। मेहनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा टिमुर लगाएकी हुँ,’ टिमुरबाट राम्रो आम्दानी हुने उनको भनाइ छ। उनले मात्र होइन, यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन्।
यहाँका सत्यवती, जुठापौवा, बल्डेंगगढी, छहरा, रिब्दीकोटको देउराली, पालुंगमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखाप बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन्।
रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुंगका बुद्धबहादुर रानाले पहिला-पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे। जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनले बताए। बारीको छेउ, ढिक, खोरिया र वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ।
असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन्। टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए। चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए।
पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ। बजारमा अचार बनाउन, तरकारी पकाउँदा र मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ। ग्रामीण क्षेत्रभन्दा बजारमा बस्ने मानिसले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ।
अग्लो र ओसिलो स्थानमा यो खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ। बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए।
उनले भने, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ।’ एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौंसम्म फाइदा लिन सकिने उनको भनाइ छ। टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवा वितरण गर्ने गरेको उनले बताए। जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ। रासस
प्रकाशित: ३२ असार २०८२ ०६:४१ बुधबार




-600x400.jpg)
