२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

अप्रत्यासित बाढीले नेपाल-चीन सीमामा अत्यास

रसुवागढीस्थित भोटेकोसी नदीमा मंगलबार बिहान आएको बाढीले ठुलो क्षति गरेको छ। लेदोसहितको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरे क्षेत्रमा रहेको भन्सार यार्डमा पनि व्यापक क्षति पुर्‍याएको छ। बाढीमा चार चिनियाँसहित २० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १४ नेपाली र ६ चिनियाँ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बाढीले भन्सार यार्डमा रहेका करिब एक सयवटा गाडी बगाएको प्रारम्भिक अनुमान छ।

सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरीअन्तर्गत इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्। बेपत्ता हुने अन्य नेपालीमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारू, सुरेश थारू, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन्। बेपत्ता अन्य दुईजनाको नाम थाहा हुन सकेको छैन। त्यस्तै बेपत्ता हुनेमा ६ चिनियाँमा यु युई, ली हुवाछिन, याङ चुआन, यु हाई हाङ, यु छिआओ छुई र जोउ योङ छन्।

मंगलबार अपराह्नसम्म बाढीमा फसेका एक चिनियाँसहित ५५ जनाको उद्धार गरिएको छ, जसमा चार महिला र ५१ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। भन्सार क्षेत्रमा उद्धार गर्न जानेक्रममा बाढीमा फसेका ११ जनाको पनि उद्धार गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमान्डमा २० जना, इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमान्डमा २८ जना, प्रहरी चौकी रसुवागढीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन महन्त गिरीको कमान्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेंसीबाट आठ जना, प्रहरी चौकी हाकुबाट सात जना, अस्थायी प्रहरी पोस्ट मैलुङबाट नौ जना, प्रहरी चौकी बेत्रावतीबाट १० जन उद्धार कार्यमा खटिएका छन्।

भन्सार यार्डमा व्यापक क्षति

बाढीले नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट) मा पनि व्यापक क्षति गरेको छ। भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडी तथा मालबाहक कन्टेनर बाढीले बगाएको जानकारी इन्टर मोडेल ट्रान्सपोर्ट डेभलप्मेन्टका कार्यकारी निर्देशक आशिष गजुरेलले नागरिकलाई दिएका छन्। उनका अनुसार यार्डमा झन्डै दुई सयवटा सवारीसाधन थिए। करिब एक सयवटा मालबाहक गाडी बाढीले बगाएको अनुमान उनको छ। उनले भने, ‘भन्सार यार्डमा झन्डै दुई सयवटा सवारीसाधन थिए, जसमध्ये करिब एक सयवटा मालबाहक गाडी बगाएको हालको अनुमान छ।’

जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै उत्तरी नाका रसुवागढी आसपास भएर बग्ने भोटकोसी नदीमा यति ठुलो बाढी आउनेगरी वर्षा भएको नदेखिएको जनाएको छ।

भोटेकोसी नदी जलाधारको तिब्बत क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले कुनै ताल फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको थियो। विभागले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा जलाधार क्षेत्र तिब्बतमा बाढीको असर आकलनका लागि सेन्टिनेल एसिया प्लेटफर्ममा बाढी आएका बेलाको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको जनाएको छ। विभागले भनेको छ, ‘प्रारम्भिक रूपमा यो बाढी वर्षाका कारण उत्पन्न भएको देखिँदैन।’

हाइड्रोपावरमा क्षति

रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले चार वटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको र आयोजनाको बाँधको गेट बगाएको प्राधिकरणले जनाएको छ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले पनि बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताए। उनका अनुसार सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ। एक सय ११ मेगावाट क्षमताको यो आयोजनाअन्तर्गतको पुलसमेत बाढीले बगाएको छ। अन्य आयोजनामा सामान्य क्षति भएको उनले बताए। उनका अनुसार ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ को भवनमा बाढी पसेको छ। चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन्।

 

रसुवामा बाढी, धुलिखेलमा गोष्ठी

मंगलबार बिहान बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति गरिरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको थियो। गोष्ठी गृह मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गतको थियो। सुरक्षा गोष्ठीमा भाग लिन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, डिएसपी हेमबहादुर शाही र सशस्त्र प्रहरी बलका डिएसपी रामहरि खड्का धुलिखेल पुगेका थिए। गोष्ठीमा सहभागी हुन उनीहरू सोमबार नै काठमाडौं आएका थिए। बाढीको समयमा रसुवामा निमित्त प्रमुख जिल्ला अधिकारी थिए। विपद्का बेला सुरक्षा निकायमा प्रमुखहरू जिल्लामा नहुनुले समन्वयमा समस्या भएको स्थानीयले बताएका थिए।

बाढीका कारण रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ पासाङल्हामु सडक खण्ड चर्किंदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

उद्धारमा समन्वय गर्न प्रमको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले टिमुरे क्षेत्रमा बाढी आएपछि मंगलबारका लागि तय भएका सबै कार्यक्रम स्थगित गरेका छन्। ओली मंगलबार कृषि तथा पशुपंक्षी विकास विभाग र नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय थियो। उनले आपत्कालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेका कारण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।

प्रधानमन्त्रीले सरकारतर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन पनि दिएका छन्। ‘यस दुखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ ओलीले लेखेका छन्, ‘सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ।’

रुखले जोगायो ज्यान

मंगलबार एकबिहानै दाउरा काट्न गएका नुवाकोट विदुरका एक दम्पती त्रिशुली नदीमा एकाएक आएको बाढीको चेपुवामा परेका थिए। भाग्ने क्रममा उनीहरू नदीबिचमा रहेको रुखमा चढे। उनीहरू बाढीमा फसेको खबर मेयरसम्म पुग्यो। तत्काल सुरक्षाकर्मी, स्थानीय सरकार र सञ्चारकर्मी घटनास्थल पुगे।

घण्टौंसम्म नदीबिचमा रहेको रुखमा चढेका उनीहरूको अन्ततः नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरियो। विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी पत्नी ६२ वर्षीया मंगली तामाङको यसरी उद्धार गरी जीवन बचाइएको हो। उनीहरूको नेपाली सेनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्रिशूलीमा दुई शव

त्रिशूली नदीमा दुई शव फेला परेका छन्। त्रिशूली किनार धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन्। ती शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि बाढीले बगाएको छ। अकस्मात् आएको बाढीले चितासहित शव बगाएको हमालले बताए।

सतर्कता अपनाउन अनुरोध

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी त्रिशूली नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। सम्भावित बाढीपहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

बाढीले रसुवाको गोसाइकुण्ड गाउँपालिकामा धेरै क्षति पु¥याएको छ। बाढीले सडकदेखि सुख्खा बन्दरगाहको संचरना ध्वस्त बनाइदिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। उनका अनुसार बाढी भीषण भएकाले क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन। स्याँफ्रुवेंसीदेखि करिब १४ किमि सडकमा क्षति पुगेको उनले बताए। ‘स्याँफ्रुवेंसीदेखि करिब १४ किमि सडकमा क्षति भएको छ। सडकको ठाउँठाउँमा पहिरो गएका कारण हिँड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बाढीपहिरोले सडक भत्किएको छ।’

रुङ्नादेखि टिमुरेसम्मको सडक ९÷१० ठाउँमा भत्किएको छ। तत्काल यो सडक सञ्चालन हुने अवस्था नदेखिएको उनले बताए। सडक चाँडै सञ्चालन नभएमा अवस्था जटिल हुन सक्ने अध्यक्ष तामाङले बताए।

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित नेपाल–चीन सीमा क्षेत्र रसु्वागढी र नुवाकोट पुगेका छन्। प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सोङसहित स्थलगत अवलोकनका लागि रसुवागढी नाका र नुवाकोट पुगेका हुन।

टोलीमा गृहसचिव गोकर्ण दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, राजस्व सचिव दिनेशकुमार घिमिरे, विपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट पनि रसुवागढी नाका पुगेका थिए। प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधि, नेपाल सरकारका कर्मचारीलगायतबाट बाढीबाट भएको क्षतिबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसहितको टोली स्थलगत अवलोकनपछि काठमाडौं फर्केको छ।

केरुङमा अलपत्र दुई सय जनाको तातोपानीबाट उद्धार हुँदै

रसुवागढीस्थित भोटेकोसी नदीमा आएको बाढीका कारण नेपाल प्रवेश गर्न नपाएका करिब दुई सय जनालाई तातोपानी नाकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा केरुङ नाकामा अलपत्र परेका नागरिकलाई तातोपानी नाकाबाट नेपाल प्रवेशको व्यवस्था मिलाइएको हो।

ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार अलपत्र परेका ५० नेपाली, २२ भारती र मानसरोबर पुगेर फर्कन लागेकासहित २ सय जनालाई तातोपानी नाकाबाट उद्धार गर्न चिनियाँ पक्ष सहमत भएको छ। ‘केरुङ नाकामा अलपत्र परेका दुई सय जनालाई रेस्क्यु गरिदिन महावाणिज्य दूतावासबाट भएको आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरेको छ। उनीहरूलाई तातोपानी नाकाबाट नेपाल प्रवेशका लागि सहजीकरण गरिएको छ’, महावाणिज्यदूत निरौलाले भने।

नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा ‘होल्ड’

बाढीमा फसेका मानिसलाई उद्धार गर्न गएको नेपाली सेनाको एउटा हेलिकोप्टर यतिबेला चिनियाँ भूमिमा ‘होल्ड’मा परेको छ। भुलवश चिनियाँ भूमिमा प्रवेश गरेको उक्त हेलिकोप्टरलाई चिनिया जनमुक्ति सेनाले होल्डमा राखेको हो। ‘नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेको दखिएपछि चिनियाँ जनमुक्ति सेनाले होल्डमा राखेको हो। चिनियाँ सरकारलाई आग्रह गरेर सकुशल फिर्ता गर्ने प्रयास भैरहेको छ’, सुरक्षा निकाय सम्बद्ध उच्च स्रोतले भन्यो।

स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावासले यसका लागि सहजीकरण गरिरहेको छ। त्यस्तै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले पनि सहजीकरणको प्रयास गरिरहेको छ। नेपाली सेनाले भने प्राविधिक कारणले हेलिकोप्टर सीमापारि गएर बसेको र प्राविधिक समस्या समाधान भएपछि फर्कने जनाएको छ। ‘उद्धारका क्रममा रसुवा पुगेको हेलिकोप्टर प्राविधिक समस्या आएपछि छिमेकी चीनको भूमिमा ल्याण्ड भएको हो। प्राविधिक समस्या सुल्झेपछि फर्कन्छ’, नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले भने।

मुस्ताङमा पनि बाढी

राससका अनुसार मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन्।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको  छ। मंगलबार साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। ‘यहाँको चुमजुङ गाउँमाथिको उच्च लेकबाट लेदोसहितको भीषण बाढी आइरहेको छ। यसले ठुलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ,’ अध्यक्ष गुरुङले भने, ‘हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौं। यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौं।’

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरु गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताए। यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सतर्क रहन फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ। उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो। मंगलबार त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरु गरेको छ।

छुकार कालीगण्डकी नदीको सहायक खोला हो। यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठुलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन्। नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुन सक्ने भएकाले सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको हो।

प्रकाशित: २५ असार २०८२ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App