पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि चिनियाँ भाषा सुरु हुन लागेको हो।
नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइएका हो।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए। उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गरे। पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य नेपाल बनेको बताए।
अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको उनको भनाइ थियो। 'चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रम बनेको छ,' उनले भने।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे।
नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौँ संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए।
प्रशिक्षण कक्षा यहीवैशाख २८ गते सोमबारदेखि सुरु हुनेछ। कक्षा भने बेलुका ५ देखि ७ बजेसम्म हुने नेपाल पर्यटन वोर्डले जनाएको छ।
प्रकाशित: २६ वैशाख २०८३ १२:१६ शनिबार





