खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर रौतहटमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका ७ का ननकार पथराका करिब ५५ चन्देश्वर बैठाको बिहीबार करेन्ट लागेर मृत्यु भएको हो ।
बैठा मौलापुर नगरपालिकाका कार्यपालिका सदस्य तथा नगर प्रवक्ता समेत हुन् । मौलापुरको इतिहास, संस्कृति तथा पुरातत्वका साथै समाजसेवामा बैठाको गहिरो रुचि रहेको थियो । नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालदेखि सक्रिय कार्यकर्ताको रुपमा विभिन्न पदमा सक्रिय राजनीतिमा रहेका बैठा पछिल्लो समय प्रभु साहको आम जनता पार्टीमा सक्रिय थिए ।
खेती किसानी समेत गर्दै आएका बैठा आफ्नो धान खेतमा पानी पटाउन गएका थिए । खेतमा पानी पटाउन गएका बैठालाई खेतमै करेन्ट लागेर मृत्यु भएको बुझिएको छ । बैठाका छोरा किसन बैठा बुबालाई खोज्दै खेतमा गएपछि खेतमै अचेत अवस्थामा फेला पारेका थिए । बैठालाई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थियो ।
समाजसेवी बैठाका दुई छोरा र एक छोरी छन । उनकी पत्नीको भने देहान्त भइसकेको छ । बैठाका बुबा ७५ वर्षीय कमल बैठा र आमा भने जिउँदै हुनुहुन्छ । छोरालाई करेन्ट लागेर मृत्यु भएको खबर सुनेदेखि आमालाई होस नभएको छिमेकी तथा मौलापुर नगरपालिकाका कार्यपालिका सदस्य दिलिप साहले जानकारी गराएका छन् ।
कार्यपालिका सदस्य तथा नगर प्रवक्ता बैठाजस्तो कर्मठ र लगनशील जनप्रतिनिधिको असामयिक मृत्युले नगरपालिकालाई अपूरणीय क्षति भएको नगर प्रमुख रिनाकुमारी साहले बताएकी छन् । बैठाको मृत्युले मौलापुर शोकमा डुबेको नगर प्रमुख साहको भनाइ छ ।
रौतहटमा करेन्ट लागेर दुई दिनमा तिन जनाको मृत्यु भएको छ । बुधवार रौतहटको कटहरिया नगरपालिकाको जमुनियामा एक जना र माधव नारायण नगरपालिकाको विशुनपुर्वा मानपुरमा एक जनाको पानी पटाउने क्रममा खेतमा नै करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रकाशित: ८ श्रावण २०८२ २०:४० बिहीबार



-600x400.jpg)

