दसैँ–तिहारको जस्ता ठुला चाडपर्वको समय सुरु भएदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप ह्वात्तै बढेको छ। यस वर्ष घटस्थापनादेखि नै सार्वजनिक सवारीसाधनलाई रुट परमिट दिने सरकारको निर्णयले यात्रुलाई राहत मिलेको छ। तर पछिल्लो समय लगातारको मनसुनपछि देशका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन्। जसले काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुले ठुलै सास्ती खेपिरहनु परेको छ।
पाँच घण्टा लाग्ने बाटोमा १५ घण्टाभन्दा बढी समय लागिरहेको छ। जसले यात्रा सुरु नै नगरेकालाई भने चिन्तित तुल्याइरहेको छ। ‘सरकारले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा नगर्दा जनता मारमा परेका छन्,’ घर जाने तरखरमा रहेका चितवनका मीन शेर्पा भन्छन्,‘बाटो यस्तो छ, अब घर कसरी जाने हो? चिन्ता लागिरहेको छ।’ उनको चाहना नेपालमा चीन जस्तै फराकिला र चिल्ला सडकको यात्रा गर्ने छ।
काठमाडौंबाट बाहिर गएका सबैजसो बस समयमा फर्कनै पाएका छैनन्। जसका कारण अग्रिम टिकट काटेका यात्रुसमेत समस्यामा पर्न थालेका छन्।
नेपालको लोकतन्त्र जनताका लागि नभई राजनीति दलमा आबद्ध ठुला नेताका लागि मात्रै आएको बताउँदै शेर्पा भन्छन्, ‘साधारण जनताले त सामान्य दैनिकी पनि कष्टसँग बिताउनु परिरहेको छ।’
दसैंका लागि घर जाने यात्रुका लागि सबै भन्दा बढी चुनौती मुग्लिन–नारायणगढ सडक बनेको छ। जहाँ दिनहुँ पहिरो खसिरहेको छ। केही बेर पहिरो पन्छाएर खुलेपछि सवारी साधन बाटो छिचोल्न यात्रा भर्छन्। तर, फेरि पहिरो आएर बन्द हुने गर्छ।
राति अकस्मात् पहिलो जाँदा हज्जारौं यात्रु र सवारी कर्मचारी बाटोमै अलपत्र पर्ने गरेका छन्। कतिपयले वैकल्पिक रुट प्रयोग गरेर लामो यात्रा खेप्नुपरिरहेको छ।
‘हामीले त जसरी पनि यात्रा गर्नै पर्छ। तर, बारम्बार पहिरो खसिरहन्छ,’ सवारी चालक कुमार पुडासैनी भन्छन्,‘कति बेला कहाँ खस्छ, थाहा नै हुन्न। डरैडरमा यात्रा गरिरहनुपरेको छ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार सडक अनियमित हुँदा यातायात सेवा सञ्चालनमा निकै कठिनाइ भइरहेको छ। काठमाडौंबाट बाहिर गएका सबैजसो बस समयमा फर्कनै पाएका छैनन्। जसका कारण अग्रिम टिकट काटेका यात्रुसमेत समस्यामा पर्न थालेका छन्।
‘हामीसँग उपत्यका बाहिर जाने बसहरू छन्। टिकट पनि अघिल्लो दिन नै उपलब्ध गराउने व्यवस्था गरेको छौँ,’ महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले भने, ‘तर बाटोमा यात्रुहरू अलपत्र पर्ने, समस्या उत्पन्न हुने डर छ। त्यसैले बसपार्कबाट उपत्यका बाहिर बस निकाल्न पनि कठिनाइ भएको छ।’
चाडबाडका बेला सकभर बसको अभाव हुन नदिने महासंघको प्रयास रहेको कोषाध्यक्ष श्रेष्ठ बताउँछन्। ‘हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरेकै छौं। एक दिन अगाडि नै टिकट दिएर यात्रुलाई ढुक्क पार्ने अवस्था पनि गरेकै छौं। तर सडकको अवस्थाले समस्या पैदा गरिरहेको छ,’ उनले भने। यस्तो बेला सरकारले बाटोमा बढी ध्यान दिनुपर्ने उनले बताए।
सडक बनाउँदा बनेको भिर र त्यसबाट आउने पहिरोको मुल्यांकन गरेर सम्भावित समस्याको समाधान नगर्दा पहिरोका घटना हुने गरेको गजुरेलको बुझाई छ।
‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’ सोमबारसम्म देशका विभिन्न १३ स्थानमा पहिरोले अवरोध गर्दा उपत्यका आउने र जाने सवारी आवागमन समेत ठप्प छ।
सरकारले सडक निर्माणलाई मात्र यातायात व्यवस्थापन मानेको र प्रणालीगत सुधारमा ध्यान नदिएका कारण हरेक वर्ष यात्रुहरूले यस्तो सास्ती भोग्दै आएको पूर्वाधारविद् आशिष गजुरेलको तर्क छ। ‘नेपालमा पहिरो जानुको प्रमुख कारण पहाडहरूको स्थायित्व नहुनु हो। सरकारले सडकलाई कालोपत्रे बनाए हुन्छ भन्ने धारणा मात्रै बनायो,’ उनले भने, ‘तर पहाड विस्फोट गराएपछि आउने भूगर्भीय जोखिमलाई ध्यान दिन सकेन। जसको कारण दैनिक जस्तो समस्या आउने गरेको हो।’
सडक बनाउँदा बनेको भिर र त्यसबाट आउने पहिरोको मुल्यांकन गरेर सम्भावित समस्याको समाधान नगर्दा पहिरोका घटना हुने गरेको गजुरेलको बुझाई छ। ‘एकातिर खोलाको कटानीले प्रभाव पार्दै गएको छ, अर्कोतिर सडकमा गर्ने लगानी पनि कम छ। त्यसमाथि सडकबाट आउने जोखिमलाई कम गर्नुपर्छ भनेर प्राविधिक टोलीले समेत भन्न नसक्दासम्म यो समस्या बढ्दो छ’, गजुरेलले भने।
प्रकाशित: ७ आश्विन २०८२ २०:५६ मंगलबार





