२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

उत्पादन घटे पनि जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

गत वर्षको तुलनामा जुम्लामा यो वर्ष ४० प्रतिशत मात्र स्याउ उत्पादन भएको छ। यो वर्ष असिना-पानी र खडेरीले स्याउको उत्पादनमा कमी आएको हो। कृषि विकास कार्यालयका अनुसार अहिले स्याउको गुणस्तर र गुलियोपन जाँचेर मात्र बजार पठाइएको छ। 'स्याउको उत्पादन, निर्यात र आम्दानीको तथ्यांक संकलन सुरु भएको छ,' कार्यालय प्रमुख रामभक्त अधिकारी भन्छन्। 

आजकाल जुम्लाका किसान बिहानदेखि बेलुकासम्म बगैँचामा देखिन्छन्। यो समयमा किसानलाई स्याउ टिप्न  भ्याइनभ्याइ छ। तल्लो क्षेत्रका किसानले स्याउ टिपेर व्यापारीलाई बेचिसकेका छन्। माथिल्लो क्षेत्रका किसान स्याउ टिप्दै छन्। जुम्लाको चन्दननाथ नगरपालिका र सात गाउँपालिकाका ६० वटै वडामा किसानले स्याउ टिप्न थालेका छन्। यसपालि स्याउको उत्पादन कम भए पनि गुणस्तरीय फल लागेकाले व्यापारी बगैँचामै पुगेर स्याउ खरिद गर्छन्।  

बगैँचामै प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचिरहेको किसान बताउँछन्। केही ठाउँका स्याउ बजार पुगिसकेका छन्। 'लेकाली क्षेत्रको स्याउ टिप्न भर्खर सुरु भएको छ,' किसान रामबहादुर रावत भन्छन्, 'जिल्ला एकै भए पनि ठाउँअनुसार फरक-फरक समयमा पाक्छ।' पहिले कृषि विकास कार्यालयले स्याउको मूल्य तोक्ने गर्थ्यो, तर यसपालि किसान आफैँले मूल्य तोकेर बेचिरहेका छन्। 'केही किसान आफैँ बेच्न गएका छन्,' रावत भन्छन्, 'धेरैले गाउँमै आउने व्यापारीलाई बेचेका छन्।' कृषिका अनुसार तथ्यांक संकलनका लागि कर्णाली राजमार्गको नाग्म प्रहरी चौकीलाई जिम्मेवारी दिइएको छ। स्याउ बोकेका मालवाहक गाडीको तथ्यांक चौकीले राख्छ। अहिले स्याउ टिप्ने, सडकमा पुर्‍याउने र ढुवानी गर्ने काम चलिरहेको छ।  

समयमै जुम्ली स्याउको कार्टुन नहुँदा भारतीय र चिनियाँ स्याउको कार्टुनमा किसानले स्याउ पठाइरहेका छन्। केही किसानले तराईबाट आएका गोलभेँडाको कार्टुन प्रयोग गरेको पाइएको छ। यसले जुम्ली स्याउको पहिचान मेटिने हो कि भन्ने चिन्ता किसानमा छ। अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ सुपरजोनले ११ हजार कार्टुन ल्याएर बाँडेको छ। कृषि विकास कार्यालय जुम्लाले 'जुम्ली एप्पल' लेखिएको १२ हजार कार्टुन ल्याएको छ। समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा दिने भएकाले साना किसान समस्यामा परेका छन्। अहिले सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौंलगायत सहरमा जुम्ली स्याउको किनबेच भइरहेको छ।  

जुम्लामा ४ हजार ४ सय हेक्टरमा स्याउ खेती भए पनि यसपालि २ हजार ९ सय हेक्टरमा मात्र फल लागेको कृषि विकास कार्यालयले जनाएको छ। 'स्याउले किसानको जीवनशैली बदलेको छ,' कार्यालय प्रमुख रामभक्त अधिकारी भन्छन्, 'तर ढुवानीको सहज बाटो नहुँदा हरेक वर्ष सास्ती खेप्नुपर्ने बाध्यता छ।' जुम्लामा स्थानीय रेड, रोयल, जोनाथन र गोल्डेन जातका स्याउ फल्छन्। विदेशी गाला, गोल्डेन फुजी र जोनाप्रिन्स जातको स्याउ खेती पनि हुन्छ। जुम्लाका करिब १८ हजार घरमा स्याउ बगैँचा छन्। स्याउ भदौ २ देखि टिप्न सुरु भएको थियो। स्थानीय तहले भदौ १५ अघि नटिप्न आग्रह गरे पनि छिटो पाकेकाले भदौ सुरुदेखि निर्यातको सिफारिस दिइएको छ।

प्रकाशित: २२ भाद्र २०८२ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App