१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

सप्तकोशीमा खतराको संकेत : तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आह्वान

फाइल तस्बिर

सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ।

साँझ ६ बजेको मापन अनुसार पानीको बहाव एक लाख ८४ हजार ७८५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २१ वटा खुल्ला गरिएको छ।

आवश्यकता अनुसार पानीको बहाव अरू बढेमा भारतीय पक्षसँग समन्वय गरेर थप ढोका खुलिने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

दुई लाख काट्नेबितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख कट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

भदौ १० गते रसुवाको टिमुरे नाकाबाट भोटेकोसी हुँदै आएको भीषण बाढी आएर अकल्पनीय धनजनको क्षति भएपछि कोशीबाट पनि खतरा हुन सक्ने हुँदा तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा बस्न आह्वान गरिएको बराहक्षेत्र नगरपालिका सूचना शाखाले जनायो।

तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित रहन आह्वान गर्नुका साथै प्रहरीले पनि माछा मार्ने र दाउरा संकलनमा समेत रोक लगाएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App