भदौ २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति स्थगित भएको छ। बुधबार आएको विनाशकारी भोटेकोशी बाढीपछि भएको जनधन क्षतिलाई ध्यानमा राख्दै निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले चलचित्रको प्रदर्शन मिति हालको लागि स्थगित गरेको जनाएको छ।
जारी विज्ञप्ति अनुसार–‘मुलुकको विद्यमान प्रतिकुल परिस्थितीलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाम्रो टोली यस निर्णयमा पुगेका हौं’
‘माया भनेकै यस्तो होला’ अब भने तिहार पर्वको अवसरमा कात्तिक २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। ‘देश दुःखी रहेको यस घडीमा मनोरन्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौं’ निर्माता दिल श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह मुख्य भूमिकामा रहेका छन।
यसअघि भदौ १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको रेखा थापा अभिनित ‘ककाकिकी’ को प्रदर्शन मिति पनि स्थगित भएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १८:३६ आइतबार





