३१ असार २०८३ बुधबार
image/svg+xml
समाज

बिहीबारसम्ममा लिखित सम्झौता हुने सहमतिपछि करार कर्मचारीको प्रदर्शन स्थगित

सरकारले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले आजको आन्दोलन स्थगित गरेका छन् ।  

प्रधानमन्त्रीको सचिवालयमा भएको वार्तापछि भोलि बिहीबार लिखित सम्झौता हुने समझदारीसँगै उनीहरूले आज सिंहदरबार परिसरमा गरेको प्रदर्शन स्थगित गरेका हुन् ।  

आन्दोलनरत कर्मचारीले करारमा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग माग गरेका छन्। साथै, दरबन्दी कटौतीका कारण सेवाबाट बाहिरिनुपर्ने कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

वार्तामा सहभागी भएका कर्मचारीले कसैलाई पनि तत्काल हटाउने सरकारको मनसाय नभएको भन्ने आसयमा प्रधानमन्त्रीको सचिवालयमा कुराकानी भएको आन्दोलनमा सहभागी कर्मचारीलाई सुनाएका छन् ।  

यद्यपी सम्झौता लिखित नभएसम्म आफूहरु चनाखो हुनुपर्ने भन्दै सचेत पनि रहेका छन् । हिजो अर्थमन्त्रालयमा भएको छलफल आज नउठेको भन्दै भोलि लिखित सम्झौता नभएसम्म पूर्ण विस्वस्त हुन नहुने उनीहरूको भनाइ छ।  

वार्ताका क्रममा त्यत्तिकै कसैलाई नउठाउने, बिदा गर्नुपर्ने अवस्था आए खाली हात नगर्ने, व्यवस्थापनको उचित कदम चालिने आश्वासन प्रधानमन्त्रीको सचिवालयले दिएको वार्तामा सहभागीले बताएका छन् ।  

यसअघि मंगलबार पनि करार कर्मचारीहरूले अर्थ मन्त्रालयअगाडि प्रदर्शन गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले साउन १ गतेदेखि करार कर्मचारीलाई महँगी भत्ता, बढेको तलब, प्रोत्साहन भत्ता तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने मागसमेत अघि सारेका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: ३१ असार २०८३ १८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App