१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

ठिनीमा स्याउ ताजा राख्न चिस्यान गृह निर्माण

घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ। सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो।

सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्राप्त विशेष अनुदानबाट ५९ लाख रुपैयाँको लागतमा ३० मेट्रिक टन क्षमताको फलफूल भण्डारण गर्ने चिस्यान गृह निर्माण गरिएको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्रबहादुर बमले बताए। ठिनी गाउँमा १० मेट्रिक टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएका हुन्।

घरपझोङ गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप थकालीका अनुसार ठिनी गाउँमा उत्पादित स्याउ सङ्कलन गरी चिस्यान गृहमा राख्न सहकारीमार्फत प्रस्ताव पेस गरी काम सम्पन्न गरिएको हो। स्थानीय किसानले उत्पादन गरेको स्याउ सङ्कलन गरी चिस्यान गृहमा राखिनेछ।

मुस्ताङको स्याउ बजारीकरणमा खासै समस्या नभए पनि यहाँ आउने पर्यटकलाई बेमौसममा समेत स्याउको स्वाद चखाउन तथा चिस्यान गृहमा राखिएको ताजा स्याउलाई कोसेलीका रूपमा बिक्री गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो। फल्ने समयबाहेकमा पनि स्याउ ताजा र महँगो मूल्यमा बिक्री गर्न सकिने भएकाले किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष थकालीले बताए।

यसअघि सिजनमा स्थानीय तथा बाहिरी व्यापारीले स्याउ खरिद गरी सिधै बजार पुर्याउने गर्दा सिजनबाहेक अन्य समयमा पर्यटकले स्याउको स्वाद चाख्न पाउँदैनथे। अब चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँमा उत्पादित स्याउ बेमौसममा पनि उपलब्ध हुने उनको भनाइ छ।

चिस्यान गृह निर्माण भएसँगै ठिनी गाउँका करिब १०० किसान प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। साथै, घरपझोङ गाउँपालिकाले स्याउ सङ्कलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ।

प्रकाशित: २७ चैत्र २०८२ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App