५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

संसदीय छानबिन समितिको म्याद थप, सांसदको जिम्मेवारी हेरफेर

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपिएको छ। प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको म्याद थपका लागि सहमति जनाएको हो।

सभामुख देवराज घिमिरेले समितिबाट सात दिनको कार्यावधि थप गर्न माग भएको बताए। संघीय निजामती सेवा विधेयक, २०८० माथिको राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन र छानबिन गर्न गत असार २३ गते प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो। उक्त विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाश प्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा अध्ययन र छानबिनका लागि उक्त विशेष समिति गठन भएको थियो।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकले संसदीय समितिका सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। यसअघि कृषि, सहकारी र प्राकृतिक स्रोत समितिमा रहेका दिक्पालकुमार शाहीलाई महिला र सामाजिक मामिला समितिमा पठाइएको छ। सांसद विष्णुकुमार कार्की कृषि समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतमलाई पूर्वाधार समितिबाट कृषि समितिमा र आशा विकलाई महिला र सामाजिक मामिला समितिबाट कृषि समितिको जिम्मेवारी दिइएको छ। संसदीय समितिका सदस्यको जिम्मेवारी हेरफेर गर्ने प्रस्तावलाई आजको सभाले सहमति जनाएको छ।

यस्तै, सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनको सांघाईमा आयोजना हुने ‘कृत्रिम बौद्धिकता सम्मेलन–२०२५’ मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका कारण उक्त मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको छ। उक्त कार्यभार तोकिएको विषयमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले आज सदनलाई जानकारी गराएको हो। रासस

प्रकाशित: ९ श्रावण २०८२ १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App