भरतपुर–१०की सीता परियार आफ्नो व्यवसायमा सधैँ व्यस्त हुन्थिन् । सिलाई कटाई गरेर जिविका चलाएकी परियारले सोमबार भने आफ्नो दैनिकी अनुसार काम गर्न सकिनन् । तीन दिनदेखि बढेको चिसोले उनको दैनिकी प्रभावित बनेको छ ।
‘२० वर्षदेखि सिलाई कटाई गरेर बसेकी छु । आज चिसोले काम गर्न सकिन,’ सोमबार दिउँसो रमाईलो चोकमा दिदीबहिनीसँग आगो ताप्दै गर्दा भेटिएकी परियारले भनिन् ‘चिसोले गर्दा काममा धेरै असर परेको छ ।’
यसरी नै लगातार तीन दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार, आइतबार र सोमबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका छन् । दिनभर शितलहर चलेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । यतिखेर चितवनका विभिन्न ठाउँमा सर्वसाधारणहरु आगो तापेर बसेको देखिन्छ । चितवनमा तीन दिनदेखि घाम लागेको छैन ।
चितवनमा सोमबार बिहान सोमबार दिउँसको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै आइतबार १३ र शनिबार १० डिग्री सेल्सियस मापन गरिएको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवल थापाले जानकारी दिए ।
चितवनका साहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी सुवेदीले चिसोबाट जनतालाई जोगाउनको लागि तयारी गरिरहेको जानकारी दिए ।
‘हामीले अहिलेसम्म त्यस्तो काम गरेका छैनौँ,’ तयारी बारे भने ‘भोलि विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा राप्ती र कालिकाका गरिब बस्तीमा सय वटा कम्बल विरतण गर्ने योजना बनाएका छौँ।’ उनले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण गर्न विपत व्यवस्थापन कोषबाट समेत रकम विनियोजन गर्न सकिने बताए । विगतमा यहाँका पालिकाले सर्वसाधरणलाई दाउरा वितरण गर्ने गरेका थिए । यसपटक भने दाउरा वितरण गरिएको छैन ।
चिसोका कारण व्यवसाय प्रभावित भएको व्यवसायी गितिका अर्यालले बताइन् । ‘चिसोले ग्राहकहरु निस्कन सक्नुभएको छैन । व्यापार ज्यादै न्यून छ,’ नारायणगढमा मोबाइल पसल सञ्चालन गर्दै आएकी अर्यालले भनिन् ‘चिसोले गर्दा हामीले अडर गरेका सामान समेत आउन सकेका छैनन् ।’
मौसम विभागका मौसमविद् गोविन्द झाका अनुसार चितवनसहित तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ । उनका अनुसार, तीन दिनसम्म मौसम उस्तै रहनेछ । तराईका जिल्लामा हुस्सु लागेको छ । ‘केही ठाउँमा शितका थोपा परिरहेका छन,’ उनले भने ‘यसलाई शितलहर त भन्न मिल्दैन अझै एक दुईदिन यस्तै भयो भने हाम्रो मापदण्डले शितलहर भन्न मिल्छ ।’ तराईका जिल्लामा अझै तीन दिन घाम नलाग्ने बताए ।
चिसो बढेसँगै अस्पतालहरुमा चिसोका बिरामी समेत बढेका छन् । डाक्टर भोजराज अधिकारीका अनुसार रुघा, खोकी, दम लगायतका बिरामीको चाप अस्पतालमा ह्वात्तै बढेको छ । चिसोबाट बच्नका लागि बेलामा झोलिलो पदार्थ धेरै खान र न्यानो कपडा लगाएर बस्नुपर्नेपर्ने उनले बताए ।
‘आगो ताप्ने, तेल मसाज गर्ने गर्दा पनि चिसोबाट बच्न सकिन्छ,’ उनले भने ‘बालबालिकालाई तेल मसाज गरिदिने, मर्निङ वाक नगर्ने, समस्या परेमा स्वास्थ्य जाँच गराउने गर्नुपर्छ ।’

तीन दिनदेखि उडान प्रभावित
चिसो बढेसँगै भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । विमान उडानका लागि मौसम सफा नभएपछि शनिबारदेखि नै उडान ठप्प रहेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवल थापाले बताए ।
‘लगातार तीन दिनदेखि उडानका लागि चाहिने भिजिविलिटी पुगेको छैन, निरन्तर विमानस्थल बन्द नै छ’, थापाले भने । उनका अनुसार भरतपुर विमानस्थलको भिजिविलिटी सोमबार ११ सय मिटर मात्रै छ । बादलको उचाई भने १५ सय फिट माथि नै छ । विमान उडानका लागि न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुन्छ । बादलको उचाई भने १५ सय फिट भन्दा माथि हुनुपर्छ । सोमबार बादलको उचाई मापदण्ड अनुसार पुगे पनि भिजिविलिटी नपुग्दा उडान प्रभावित बनेको उनले बताए ।
भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । विमान उडान हुन नसक्दा यात्रुको टिकट रकम फिर्ता (रिफन्ड) गर्न थालिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले बताए । भरतपुर विमानस्थल हुँदै दैनिक पाँचसय भन्दा बढी यात्रुहरु चितवन–काठमाडौं आवातजावत गर्दै आइरहेका छन् ।
चिसो बढेपछि भरतपुर र माडीले विद्यालय बन्द गरे
चिसो बढेपछि भरतपुर महानगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । उनीहरुले १६ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जनप्रतिनिधि, अभिभावक, विद्यालय र सरोकारवालाको सुझावका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
सोमबारको निर्णय अनुसार पुस १६ गतेका दिन भरतपुर महानगरपालिका भित्र सञ्चालित सबै विद्यालय (पूर्वप्राथमिक मन्टेश्वरीसमेत) लाई बिदा दिने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवास चन्द्र आचार्यले जानकारी दिए ।
प्रकाशित: १४ पुस २०८२ १८:२७ सोमबार





