चितवनको नारायणगढस्थित व्यस्त सडकमा नेपाल प्रहरी स्कुलका विद्यार्थीहरूले ‘ट्राफिक स्वयंसेवक’ बनेर सवारी र पैदलयात्रीको व्यवस्थापन गरेका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरूले किताबको ज्ञानलाई व्यवहारमा उतार्दै एक दिने सामाजिक सेवा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा नेपाल प्रहरी स्कुल शान्तिपुरका ५३ जना विद्यार्थी सडकमा खटिएका थिए।
उनीहरूले जेब्राक्रसिङबाट पैदलयात्रीलाई बाटो काट्न सघाउने, सुरक्षित सडक प्रयोगबारे सचेतना जगाउने र नियम उल्लङ्घन गर्नेलाई कारबाही प्रक्रियामा ट्राफिक प्रहरीलाई सहयोग गर्ने काम गरे।
स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार एसइईपछि विद्यालय छाड्न लागेका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो। ‘विद्यार्थीमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्षमता र असल आचरण विकास गराउने हाम्रो मुख्य उद्देश्य हो,’ उनले सुनाए।
सडकमा खटिनुपूर्व विद्यार्थीहरूलाई नेपाल प्रहरीको दैनिक कामकारबाही, अपराध अनुसन्धान, कानुनी प्रावधान र सवारी दुर्घटना न्यूनीकरणमा नागरिकको भूमिकाबारे सचेतना कक्षा दिइएको थियो। कक्षामा सिकेको त्यही ट्राफिक नियम र ज्ञान उनीहरूले सडकमा अभ्यास गरेका हुन्।
विद्यार्थीहरूको हौसला बढाउन सडकमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (एसपी) डिल्लीनारायण पाण्डे, चितवनका प्रहरी प्रमुख (एसपी) गोविन्द पुरी, जिल्ला ट्राफिक प्रमुख (इन्स्पेक्टर) अनिल थापा र विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २ चैत्र २०८२ २०:२२ सोमबार





-600x400.jpg)