उदयपुरको चौदण्डीगढी नगरपालिकाले दलित मुसहर समुदायलाई न्यानो ओढ्ने ब्ल्याङ्केट वितरण गरेको छ । अत्याधिक बढेको जाडोबाट बचाउन नगरपालिकाले दलित तथा अति विपन्न मुसहर समुदायलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
नगरपालिकाको चालु आर्थिकवर्षको ‘विपन्न नागरिक सहायता कार्यक्रम’अन्तर्गत ब्ल्याङ्केट वितरण गरेको जनाएको छ । नगरप्रमुख कालुमान लामा र उपप्रमुख मनिकादेवी दुलाल बिहीबार र शुक्रबार मुसहर बस्तीमै पुगेर ब्ल्याङ्केट वितरण गरेका हुन् । उनीहरुले नगरका विभिन्न वडामा बसोबास गर्दै आएका ३ सय ८४ घरधुरी मुसहरलाई ब्ल्याङ्केट वितरण गरेका हुन् ।
ब्ल्याङ्केट पाउनेमा चौदण्डीगढी २ को झोरापाटाका ७५ घरधुरी छन् भने ५ नं. वडाका सुन्दरपुर, शिवाई र बेल्हाका १ सय ३१ घरधुरी रहेका छन् । त्यसैगरि ९ नं. वडा हडियाका १ सय ४८ तथा १० नं. वडाको हडिया आसपासका ३१ घरधुरीले ब्ल्याङ्केट पाएको नगरपालिकाले जनाएको छ ।
सामुहिक घर बनाएर बस्ने दलित तथा विपन्न समुदायका मुसहरलाई लक्षित गरि ब्ल्याङ्केट वितरण योजना अघि सारिएको मेयर लामाले बताए । अत्याधिक बढेको चिसोमा मुसहर परिवारका बालबालिका तथा बृद्धबृद्धालाई चिसोबाट बचाउन ब्ल्याङ्केट वितरण कार्यक्रम ल्याइएको उनको भनाई थियो ।
गरिवी र अभावकै कारण हिउँदमा जाडोको कहर तथा बर्खामा गर्मी र बाढीको डुबान कटानको समस्या भोग्दै आएको यो समुदायको सुरक्षा र उत्थान गर्नकै लागि नगरपालिकाले विशेष बजेटको व्यवस्था गर्न थालेको मेयर लामाले बताएका छन् । ब्ल्याङ्केट वितरण गर्दै मेयर लामाले नगरभित्र बसोबास गर्ने मुसहर समुदायको उत्थानका लागि चालुवर्षदेखि ठोस योजना बनाएर अघि बढिरहेको जानकारी दिए ।
‘तपाँईहरु वर्षौँदेखि अशिक्षा र गरिवीमै हुनुहुन्छ, अव शिक्षा, स्वास्थ्यमा प्रगती गर्नुपर्छ, त्यसले रोजगारी सृजना हुन्छ । त्यसका लागि नगरपालिकाले कार्यक्रम ल्याउदैछ’ मेयर लामाले भने ‘नगरको योजनामा तपाँईहरु लागी पर्नुहोस्, आगामी दिनमा आयआर्जन गरेर धनी हुनुपर्छ, पढेर शिक्षित हुनुपर्छ है !’
प्रकाशित: १८ पुस २०८२ १९:०९ शुक्रबार





